|

विराटनगर : ‘आवर विराटनगर’ का समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार भएको छ।

आज (बिहीवार) स्थानीयवासी र पीडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेका थिए।

सोही आन्दोलनको समाचार संकलनका लागि पुगेका देवानलाई आन्दोलनकारी पक्षका केही व्यक्तिले दुर्व्यवहार गरेका हुन्। आन्दोलनकारी पक्षले बारम्बार फोन गरेपछि समाचार संकलनका लागि आफू महानगर परिसर पुगेको देवानले बताए।

उनले आफूमाथि दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कारबाहीको मागसमेत गरेका छन्।

‘आन्दोलनकारी पक्षले बारम्बार फोन गरेपछि म समाचार संकलनका लागि विराटनगर महानगरपालिका पुगेको हुँ,’ उनले भने, ‘आन्दोलन भएको स्थानमा पुग्नासाथ हातपातको प्रयास भएको हो, घटनामा संलग्न सबैलाई कडाभन्दा कडा सजायको माग गर्छु।’

घटनाको विषयमा नेपाल पत्रकार महासंघ मोरङ शाखा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश, प्रेस सेन्टर नेपाल मोरङ, प्रेस सेन्टर नेपाल कोशी प्रदेश, प्रेस युनियन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघले समेत चासो राखेका छन्।

विराटनगर–७ स्थित कबाडी पसलमा बुधवार आगलागी भएको थियो। आगलागीमा २ जनाको र उपचारका क्रममा १ जनाको मृत्यु भएको थियो। ३ जना घाइते भएका छन्।

यही आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाले ढिलासुस्ती गरेको भन्दै महानगरविरुद्ध उत्रिएका हुन्। आन्दोलनकारी पक्षले महानगरपालिकाले एम्बुलेन्स र दमकल पठाउन ढिलासुस्ती गरेको भन्दै महानगरपालिका घेराउ गरेका हुन्। उनीहरुले मेयरको राजीनामाको माग गर्दै महानगर घेराउ गरेका हुन्।

यसो भन्छ महानगर

महानगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक राजन पौडेलले आगलागी भएको स्थानमा समयमा नै दमकल पठाएको दाबी गर्छन्। बाहिर आएका सबै कुरा तथ्यहीन रहेको उनले बताए। घटना भएको स्थान साँघुरो भएको र भीड नियन्त्रण गर्न असहज भएकाले पनि आगो नियन्त्रणमा समस्या भएको उनको भनाइ थियो। 

हिजो दिउँसो २ बजे सातघुम्तीस्थित कबाडी पसलमा आगलागी हुँदा विराटनगर-६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको छ।

सुशिला पासवानको घटनास्थलमा नै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

आगलागीमा जलेका विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिंकी कामतको काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ। ​घाइतेहरुलाई नेपाली सेनाको एयर एम्बुलेन्सले उपचारका लागि काठमाडौँ लगेको हो।

उक्त आगलागी ६ वटा दमकल, स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको र आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.