|

काठमाडौँ : पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशविरुद्ध परेका उजुरी माथि संसदीय सुनुवाइ सुरु भएको छ। 

संसदीय सुनुवाई समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदुत शनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावीत सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुलाई सो उजुरी र प्रस्तावित राजदुत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ । 

पोर्चुगलका लागि प्रस्तावित राजदुत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरुको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको पनि समितिका सभापति राणाले बताए।

संसदीय सुनुवाई समितिले गत मंसिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदुत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । 

संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको बैठक मंसिर २२ गते अपरान्ह साढे २ बजे बोलाइएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.