|

सर्लाही : सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले आज (बिहीवार) डोंगा पूजा गरेको छ।

चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि आज डोंगा पूजा गरेर साइत जुराइएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए। बिहान ११ बजेर ४५ मिनेटको साइतमा डोंगा पूजा गरिएको हो।

पूजामा उद्योगका सञ्चालक राजेश केडिया, किसान नेताहरुलगायत दर्जनौं किसानहरुको सहभागिता रहेको थियो।

उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकका अनुसार भोलि २२ गतेदेखि उखु संकलनका लागि चलान पुर्जी वितरण गरी यही मंसिर २६ गतेदेखि उखु क्रसिङ शुरु गरिनेछ।

यस वर्ष हावाहुरी र वर्षा कम भएकोले उखु उत्पादन बढी हुने अनुमान गरिएको प्रबन्धक रजकले बताए। उनले चैत पहिलो सातासम्म क्रसिङ चल्ने अनुमान गरेका छन्।

उद्योगले गत वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखे पनि २८ लाख क्विन्टल उखुमात्र क्रसिङ गरेको थियो। यस वर्ष भने ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य रहेको प्रबन्धक रजकले बताए।

गत वर्ष सरकारले उखुको प्रति क्विन्टल मूल्य ६१० रुपैयाँ तोकेको थियो। त्यसमा उद्योगीले ५४० रुपैयाँ र सरकारले अनुदानस्वरुप ७० रुपैयाँ दिएको थियो।

गएको वर्ष सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनले १० हजार ६७८ जना किसानको २८ लाख २० हजार ५७० दशमलव १५ क्विन्टल, महालक्ष्मी चिनी उद्योग बगदहले १७ हजार ३० किसानको १० लाख ९५ हजार ८९२ दशमलव ९८ क्विन्टल र अन्नपूर्ण चिनी उद्योग धनकौलले १ हजार ३७८ किसानका २ लाख ६२ हजार ८६१ दशमलव ८६ क्विन्टल उखु क्रसिङ गरेका थिए।

यि तीनवटै उद्योगले क्रसिङ गरेको कूल ४१ लाख ७९ हजार ३२४ दशमलव ९९ क्विन्टल उखुको ७० रुपियाँका दरले २९ करोड २५ लाख ५२ हजार ७४९ रुपैयाँ ०३ पैसा सरकारले अनुदान निकासा दिनु पर्छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका कोष नियन्त्रक पुरुषोत्तम बरालले अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम ९ करोड रुपैयाँ मात्र प्राप्त भएको बताए। प्राप्त रकम किसानको खातामा पठाइसकेको जानकारी उनले दिए।

यता किसान नेताहरुले भने चिनीको मूल्यका आधारमा उखुको मूल्य निर्धारण हुनुपर्ने बताएका छन्। अहिले सरकार, उद्योगी र किसानबीच वार्ता चलिरहेको बताए। उनीहरुले उखु प्रति क्विन्टल न्यूनतम ७७० रुपैयाँ हुनुपर्ने माग राख्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.