|

नारायण ढुङ्गाना

काठमाडौँ : विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक र कहलिएको गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय यसको सम्भावना अझै प्रचुर मात्रामा बढेको छ।

यतिखेर देशका विभिन्न रुटका पदयात्रामा गएकाहरुलाई हेर्ने हो भने विदेशीभन्दा स्वदेशी नै धेरै भेटिन्छन्। पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन्।

ट्रेकिङका लागि आकर्षक गन्तव्य र प्रचुर सम्भावना देखेर नै विश्वभरिका मानिस नेपालमा पदयात्रा गर्न आउने गर्छन् तर पनि यसमा रहेको अथाह सम्भावनालाई वास्तविकतामा बदल्न भने पर्यटन व्यवसायीलाई हम्मेहम्मे परिरहेको देखिन्छ।

अर्कातर्फ साहसिक पर्यटन भएकाले पनि पदयात्रीका शारीरिक तन्दुरुस्ती र स्वास्थ्य समस्या यसको अर्को ठूलो चुनौती हो। जोखिम मोलेरै गर्ने यात्रा हो- ट्रेकिङ तर यसबाट पाइने आनन्द भने व्यक्तिअनुसार फरक फरक हुने गर्छ।

प्रकृतिले दिएको अनुपम उपहारको फाइदा उठाइरहँदा त्यसको संरक्षणमा जुट्नु सम्बद्ध निकायको दायित्व हो। तर यसो गर्नुको सट्टा एकपछि अर्को पदमार्ग खण्डहर बनाउने काम जारी छ। यसबाट नेपाली पर्यटनले मौलिकता गुमाउँदै गएको छ। 

जथाभावी पहाड खोस्रेर सडक बनाउँदा अर्गानिक ट्रेकिङ रुट हराउँदै छन्। कतिपय स्थानमा न्यूनतम पूर्वाधारको पनि अभाव छ। 

जथाभावी र आफूखुशी शुल्क उठाउने प्रवृत्ति र आधुनिकताका नाममा गरिएका निर्माण र व्यवहारले ट्रेकिङ क्षेत्रको मानमर्दन गरिरहेको पनि देखिएको छ। त्यसमाथि व्यवसायीका कतिपय नकारात्मक गतिविधिलेसमेत यो व्यवसायलाई असर गरिरहेको त छँदैछ।

​जे भिल नेपाल ट्रेकिङ एण्ड एक्सपेडिसनका सञ्चालक होमनाथ भट्टराई शुल्क तिरेअनुसार चाहिने खास पूर्वाधार नभएकाले पैसा उठाउने मात्रै नीतिले समस्या परिरहेको बताउँछन्। उनका अनुसार अन्नपूर्ण सर्किटमा पदयात्राको अनुमति लिनु पर्छ। लाङ्टाङ र मनास्लुमा पनि यस्तै छ।

मुस्ताङमा पदयात्रा अनुमति लिन ५०० अमेरिकी डलर नै तिर्नु पर्छ। डोल्पोमा पनि प्रतिदिनको हिसाबले शुल्क लिने गरिएको छ। त्यो शुल्क सबै संरक्षण क्षेत्रले लिन्छन् तर उनीहरुले पदयात्राका कुनै पूर्वाधारमा कुनै रकम खर्च नगर्ने उनले बताउँछन्।

‘बाटो अलिअलि बनाएका छन्‚ त्यसबाहेक अरु केही छैन। अप्ठ्यारो पर्दा हेलिकप्टरमा उठाएर लैजानेभन्दा अरु कुनै विकल्प नै छैन‚’ टानका सचिवसमेत रहेका उनले भने, ‘त्यसरी शुल्क नै लिने गरेपछि बीमा पनि गरे हुन्थ्यो। पर्यटनलाई केन्द्रित गरेर सहयोग गरौँ भन्ने नै देखिँदैन। सल्लाह दिन खोज्यो कुन पार्टीको मान्छे हो भनेर हेर्ने गरिन्छ।’

उनका अनुसार मनास्लु जानुपर्‍यो भने त्यसको छुट्टै कर तिर्नु पर्छ, अलिकति अन्नपूर्ण छुन्छ, त्यहाँ पनि बेग्लै शुल्क तिर्नु पर्छ। 

फेरि होटल र लजका बेग्लै मनपरी मूल्य छन्। उनका अनुसार दुई लिटर पानी उमालेर दिएको ५ सय रुपैयाँ तिर्नु पर्छ। एउटा अण्डाको ५ सय रुपैयाँ तिरेर खानुपर्ने अवस्था पनि रहेको उनले बताए। 

उनले विदेशको अनुभव सुनाउँदै बाहिर पैसा लिए पनि त्यहीअनुसार पूर्वाधार राम्रो हुने गरेको र सुविधा दिने गरेको बताए।

‘अहिले त धेरै ठाउँमा बाटो पुगिसकेकाले त्यो ठाउँमा ट्रेकिङ हुन्न‚ रुट पनि सकिने अवस्थामा छन्‚’ उनले भने‚ ‘नयाँ रुट खोज्नुपर्ने र गाडी हिँड्ने रुट फरकफरक भएमात्र पदयात्रा फस्टाउँछ।’

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अनुसार ट्रेकिङका लागि नेपाल उत्कृष्ट गन्तव्य हो। धेरै पर्यटक यसैका लागि नेपाल आउँछन्। 

तर प्रचुर सम्भावना भए पनि सम्भावनालाई ‘क्यास’ गर्न चुक्तै गएको र चुनौती भने थपिँदै गएको टानको भनाइ छ। यो मौसममा मनमोहक दृश्य देखिन्छ तर हिमपात शुरु भइसकेकाले प्राकृतिक चुनौती पनि उत्तिकै छ। 

टानका महासचिव विनोद सापकोटाका अनुसार यसपालि अब ट्रेकिङको याम सकिने क्रममा छ। ‘सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल र मे मुख्य ‘सिजन’ हो‚’ उनले भने‚ ‘तर अहिले नजाने नै भन्ने होइन‚ पर्याप्त पूर्वाधार नहुँदा र सावधानी नअपनाए जोखिम बढी हुने मात्र हो।’
अहिले थोरै संख्यामा मात्र विदेशी पदयात्रामा जान्छन् भने आन्तरिक पर्यटक बढी गइरहेका छन्। सावधानी अपनाएमा ट्रेकिङ गर्नलाई जुनसुकै समयमा पनि समस्या नहुने महासचिव सापकोटा बताउँछन्।

‘त्यसरी जाने पनि छन्। अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ‚’ उनले भने‚ ‘सगरमाथा बेसक्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङका लागि राम्रा गन्तव्य हुन्।’

अनुमानित २ लाखभन्दा बढीले ट्रेकिङ गर्ने बताइए यकीन तथ्याङ्क भने छैन। नेपालमा ट्रेकिङमा पनि पर्यटक बढ्न थालेकाले व्यवसायी भने हर्षित भएका छन्। 

व्यवसायी संसारको सबैभन्दा राम्रो ट्रेकिङ गन्तव्य नेपाल भएको दावी गर्छन्। यहाँ अझै पनि २५० जति सम्भावित ट्रेकिङ क्षेत्र रहेको बताइन्छ। तीमध्ये ९/१० वटाबाट मात्र फाइदा लिन सकिएको छ। 

अन्नपूर्ण, सगरमाथा, लाङ्टाङ, मुस्ताङ अनि डोल्पालगायत आकर्षक गन्तव्यका रुपमा चिनिन्छ। केही नयाँ रुटको प्रचारप्रसार नै हुन नसकेको पर्यटन व्यवसायी बताउँछन्।

जाडोमा ट्रेकिङ : जोखिम मिसिएको आनन्द

केही दिनदेखि हिमपात हुन थालेको र चिसो बढेकाले यस्तो बेलामा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाले बताए। दुई दिनदेखि मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ।

हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित छ भने कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध हुन पुगेकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन्।

यसपालि गत वर्षभन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ। तराईमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रममा रहेको छ। 

देशैभरको मौसम चिसो हुँदा यसको प्रत्यक्ष प्रभाव ट्रेकिङ क्षेत्रमा पनि पर्छ। ट्रेकिङको मौसम करिब करिब सकिएको भए पनि साहसिक पर्यटक भने नियमितजसो बाह्रै महिना जाने गर्छन्। अहिले पनि सयौँ पर्यटक विभिन्न ट्रेकिङ रुटमा छन्।

महासचिव सापकोटा हिमपात भएसँगै ठूला हिमालमा हिउँ थपिने र दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने बताउँछन्। 

‘यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ‚’ उनले भने‚ ‘अनुभवी व्यक्ति विना ट्रेकिङमा जानु हुन्न।’ हिमाली क्षेत्रबाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा बेस हुने उनले बताए।’ 

‘यसरी जाँदा कपडा पनि त्यसैअनुसार उपयुक्त लगाउनुपर्छ, हिउँ परेर बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ। पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु निकै जोखिमपूर्ण हुन्छ,’ सापकोटा भन्छन्, ‘यतिबेला माथिल्लो (हिमाली) भूभागमा हिउँ पर्छ। एउटा लेयर जमेर बसेको हुन्छ‚ त्यसमाथि नयाँ हिउँ थपिन्छ। जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुट्याइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर थाहा पाउने व्यक्ति लिएर जानुपर्छ।’ 

त्यहीअनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा पदयात्रामा जानेले लगाउनुपर्ने उनको सुझाव छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन अल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोरम दृश्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी रहेको बताउँछन्। 

उनका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुने भएकाले घाम लाग्नुभन्दा पहिला विहानै गन्तव्यमा पुग्नुपर्ने हुन्छ।

‘बेलुका चिसोले हिउँ सेट भएको हुन्छ। विहान १० देखि दिउँसो ४ बजेसम्म हिउँ पग्लिने हुँदा जोखिम धेरै हुन्छ। पथप्रदर्शकले यस्ता कुरा ख्याल गर्नुपर्‍यो। अनुभवी पथप्रदर्शक (गाइड)को निर्देशनमा हिँड्नुपर्छ,’ ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्छन्, ‘अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो बिराउन सक्छ, खाल्डोमा पर्न सकिन्छ। अनि हिउँ परिरह्यो भने चिसो बढेर विरामी बनाउन सक्छ। कपडा न्यानो लगाउनुपर्‍यो‚ खाना त्यहीअनुसार तातो खानुपर्छ र वासस्थानको पनि सोहीअनुसार व्यवस्थापन गर्नुपर्छ।’

उनले यतिबेला होटलहरु पनि बन्द हुने भएकाले पदयात्रामा निस्कनुअघि होटल छन् छैनन् सबै बुझेर यकीन गरेर मात्रै पदमात्रामा जान जोड दिए। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरुले सावधानी अपनाउनुपर्ने जनाएको छ। 

तराईमा हुस्सु बढ्न थालेको छ। शीतलहरसमेत शुरु हुने भएकाले अब हिमाली भूभागको हिमपात, तराईको शीतलहर र पहाडी क्षेत्रको ठण्डीबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ। 

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुनसक्ने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गरे।

जनस्वास्थ्यविद्को सुझाव

जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेका अनुसार ट्रेकिङमा जाँदा अक्सिजनको अभाव हुनसक्छ। जति उचाइमा गयो त्यति नै वायुमण्डल पातलो भएर अक्सिजनको मात्रा कम हुने गर्छ।

जाडोमा चिसो पनि धेरै हुने भएकाले पर्याप्त तयारी गर्नुपर्छ। श्वाससम्बन्धी वा दीर्घ रोग छ भने आवश्यक औषथि लैजान भुल्नु हुन्न। हिमपात हुने, हिमपहिरो खस्ने र बाटो पुरिने सम्भावना पनि हुन्छ। यस्ता विषयमा पहिले नै ध्यान दिनुपर्ने डा पाण्डे सुझाउँछन्।

यस्ता ठाउँमा जाँदा हिमाल चढिरहेका विज्ञ पथप्रदर्शकसँगै जानुपर्ने हुन्छ। हिमाल चढ्दा धेरै दुर्घटना हुने गरेका छन्। ‘चिसोले, अक्सिजनको कमीले विभिन्न समस्या आउने, निलो भएर झमझमाउने, अचेत हुने, ‘सेन्स’ हराउने पनि हुन्छ । जति तापक्रममा जान्छौँ, त्यसैअनुसार कपडा लगाउनुपर्ने हुन्छ। अक्सिजन पनि चाहिएभन्दा बढी नै लिएर जाँदा राम्रो हुन्छ,’ डा पाण्डेले भने।

हिमपात नहुने क्षेत्रमा तातोपानी र तातो खाना खानुपर्छ। रुघाखोकी लाग्ने हुँदा चिसोबाट जोगिने र औषधि लैजाने गर्नुपर्छ। सास फेर्न समस्या हुनसक्ने भएकाले त्यहीअनुसार तयारी गर्नुपर्छ र चिप्लिने सम्भावना हुने भएकाले नचिप्लिने खालका कपडा र जुत्ता प्रयोग गर्नुपर्छ। यस्तो अवस्थामा एक्लै नभई समूहमा हिँड्न पनि उनी सुझाव दिन्छन्। 

यस्तो छ अहिलेको मौसम

हाल नेपालमा पश्चिमी वायुका साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ्ग’ नामक सामुन्द्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेश, मधेश प्रदेशका साथै पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम विज्ञान विभागले जनाएको छ।

कोशी प्रदेशका र मधेश प्रदेशको १/२ स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको छ। 

विभागले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट जोगिन सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

काठमाडौँको न्यूनतम तापक्रम यसपालि ७.४ डिग्री सेल्सियससम्म झरिसकेको छ। जोमसोमको तापक्रम सबैभन्दा थोरै माइनस ५.५ डिग्री सेल्सियसमा झरेको छ।

दोलखाको जिरीमा १ डिग्री, जुम्लामा माइनस ३.८ डिग्री सेल्सियससम्म झरेको छ। चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.