विराटनगर : नदीको भँगालोमा हेलिँदै गन्तव्य पछ्याउन जोखिमपूर्ण हुन्छ‚ त्यसमा पनि सप्तकोशी जस्तो नदीमा अझ कठिन हुन्छ यात्रा। तर पनि जीवनयापनकै लागि सप्तकोशीमा यस्तो ज्यानकै जोखिम सयौँपल्ट उठाइसकेका छन् जापान राईले‚ त्यो पनि हिउँदमा मौन बसेझैँ लाग्ने शान्त सप्तकोशीको पानीमा मात्र हैन गडगडाएर उर्लँदो बर्खे भेलमा पनि।
अनि यसरी बाँसमा जल यात्रा गर्ने पनि उनीमात्र होइनन्‚ सप्तकोशी आसपासका सयौँ बासिन्दाले यसरी नै सप्तकोशीमा हेलिँदै बाँस ओसारेर जीवन धान्ने गरेका छन्। जापान र उनका साथीहरुको यो यात्रालाई ‘बाँस-यात्रा’को उपमा दिनु उपयुक्त होला।
किनारमा गजधम्म बसेका ठुल्ठूला पहाडका थुम्काहरु मुन्तिर सप्तकोशीको तीव्र वेगमा वर्षेनि उनी ‘बाँस-यात्रा’ गर्दै उदयपुरबाट वराहक्षेत्र हुँदै चतरासम्म बाँस ल्याउने गर्छन्। यसरी सयौँ बाँसलाई डोरीले बाँधेर खोलैखोला ल्याएको बाँसलाई ‘चेपाको बाँस’ भनिन्छ।
चेपाको बाँस सप्तकोशीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरबाट सप्तकोशी हुँदै सुनसरीको वराहक्षेत्र ल्याइने गरिन्छ। सप्तकोशी हुँदै वर्षेनि हजारौँ घना बाँस ओसार्ने क्रममा ढुंगामा ठोक्किएर, भँगालोमा परेर कतिले त ज्यानै गुमाएका पनि बताउँछन् जापान।
उदयपुरका जापान १५ वर्षदेखि ज्यानको माया मारेर हिउँद होस् कि बर्खे भेल यसरी नै बाँस ओसार्ने गरेको बताउँछन्। घर चलाउने मुख्य आर्थिक स्रोत नै यही ‘बाँस-यात्रा’ भएको बताउने उनी पारिवारिक जिम्मेवारीको गहकिलो भारीसामु मृत्युको डरसमेत फिक्का हुन्छ भन्छन्।
यो काममा लाग्दाका शुरुवाती दिनमा सप्तकोशीमा हेलिन मुटुले ढ्यांग्रो ठोके पनि पछि विस्तारै बानी पर्दै गएको उनले बताए।
जापान र उनीसँगै आएका साथी उदयपुरबाट विहान ९ बजे नै ‘बाँस-यात्रा’मा हेलिएका रहेछन्। उनीहरु वराहक्षेत्रको सिसौनीघाटमा भेटिँदा दिउँसोको करिब ३ बजिसकेको थियो।
उनीसँग सप्तकोशीको पानीमा बाँसमै रात बिताएका सुनाउनलायक तिता मिठा सम्झना धेरै छन्। ‘जोखिम धेरै हुन्छ‚ ज्यानको बाजी लगाएर घरबाट हिँड्नु पर्छ, मेरो आफ्नै भोगाई छ- पानीमा कति रातहरु बितेका छन्‚’ उनी भन्छन्, ‘कहिलेकाँही ढुङ्गामा अड्किन्छ, सधैँ पौडिएर निस्किन सकिने अवस्था नै हुँदैन।’
पानीमा रात बिताउनु परेका वेला फोन गरेर खाजा मगाएर पेटको आगो शान्त पारेको र कतिपल्ट रातभर भोकै बिताउनु परेको उनलाई हिजै जस्तो लाग्छ। उनी आफ्नो ‘बाँस-यात्रा’को जिन्दगीमा यस्ता बिर्सन नसकिने क्षण निकै रहेको सुनाउँछन्।
ज्यान नै हत्केलामा राखेर उदरपुरबाट यसरी बाँस ओसार्दा पनि एकपटकमा जम्मा २ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म मात्र फाइदा हुने गरेको उनले बताए।
उदयपुर, भोजपुर आसपासका जिल्लाबाट यसरी नै खोलैखोला ल्याइने बाँस धरान‚ इटहरी‚ इनरुवा‚ विराटनर मात्र नभएर काठमाडौँसम्म पनि लगिने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।