|

काठमाडौँ : १९ वर्षमुनिको यू-१९ एशिया कप क्रिकेटमा श्रीलंका र बंगलादेशले आ-आफ्ना खेल जित्दै विजयी शुरुवात गरेका छन्।

समूह बी अन्तर्गत आज (शनिवार) भएको खेलमा श्रीलंकाले जापानलाई ७ विकेटले हराउँदा बंगलादेशले यूएईलाई ६१ रनले पराजित गर्दै विजयी शुरुवात गरेका हुन्। 

जितका लागि जापानले दिएको ७६ रनको सामान्य लक्ष्य श्रीलंकाले १२ ओभर २ बलमा ३ विकेटमात्र गुमाएर पूरा गर्‍यो। श्रीलंकाको जितमा कप्तान सिनेथ जयवर्धनेले सर्वाधिक २० रन र रुसान्डा गमागेले १८ रनको योगदान गरे। 

त्यसअघि दुबईको आईसीसी क्रिकेट एकेडेमी रंगाशालामा टस जितेर श्रीलंकाले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको जापान ३० ओभर ३ बलमा अलआउट हुँदै ७५ रनमा समेटिएको थियो। 

आजै भएको अर्को खेलमा बंगलादेशले यूएईलाई ६१ रनले हराएको छ। जितका लागि बंगलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको यूएई ४७ ओभर ४ बलमा अलआउट हुँदै १६७ रनमा समेटियो। 

जितसँगै समूह बी बाट श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ। श्रीलंकाको जति नै २ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ।

प्रतियोगिताअन्तर्गत भोलि (आइतवार) समूह ए मा अघिल्ला खेल जितेका पाकिस्तान र भारत तथा पराजित टोली नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.