|

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन गरेर भन्सार जाँचपास गराई राजस्व छलेर ठूलो परिमाणमा मालसामान भित्रिने गरेको खुलेको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेको टोलीले भारतबाट आएको एक कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका मालसामान फेला परेपछि सो खुलेको हो। 

सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार भन्सार कार्यालय पार गरेर भारतबाट नेपालगन्जतर्फ आइरहेको एनएल ०१ एएफ १७२६ नम्बरको भारतीय कन्टेनर जाँच गर्दा बिल बिजक शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर भौतिक परीक्षण गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास गरिएका मालसामान फेला परेको थियो।

एसपी शाहीले कन्टेनर र भारतको उत्तर प्रदेश जिल्ला फिरोजावाद बस्ने ४२ वर्षीय चालक जयपाल सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको थियो।

सो कार्यालयले अनुसन्धान र भौतिक परीक्षण गरेर न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका मालसामानको ५ लाख २१ हजार ४८४ रुपियाँ जरिवाना तोकेको उनले बताए।

कम मूल्याङ्कन देखाएर राजस्व छल्ने कार्यमा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने आशङ्का प्रहरीले गरेको छ।  

दैनिक सयौंको संख्यामा कन्टेनर र ठूला ट्रकहरु भारतबाट मालसामान बोकेर नेपालगन्ज नाकाबाट भित्रिने गरेकोमा कतिले न्यून मूल्याङ्कन देखाएर भन्सार जाँच पास गराउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.