|

काठमाडौँ : एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको आज (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।

लगातार दोस्रो खेलमा भएको पराजयसँगै नेपालको सेमिफाइनल पुग्ने गणितीय सम्भावना कमजोर बनेको छ। नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। 

नेपालका लागि अर्नुन कुमालले सर्वाधिक ९१ रन बनाए। उनले १०८ बलमा १३ चौका हानेका थिए। कप्तान देव खनालले २४ रन, गुलशन झाले १७ रन, दीपक बोहोराले १५ रन र दीपेश कँडेलले ११ रनको योगदान गरे। 

अफगानिस्तानका नासिर खान मारोफ्खिल र फ्रिडोन दाउदजाईले ३/३ विकेट लिए। मोहम्मद युनुसले २ र वहिदुल्ला जाडरान र खलेल अहमदले १/१ विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबैभन्दा ठूलो स्कोर बनाएको थियो। नेपालविरुद्धको खेलमा अफगानिस्तानले अहिलेसम्मकै सबैभन्दा बढी रनको स्कोर बनाएको हो। 

टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ४९ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनायो। 

अफगानिस्तानका लागि जमशीद जाडरानले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। १५२ बलको सामना गरेका उनले अविजित रहँदै सर्वाधिक १०६ रनको योगदान गरे। 

नुमान शाहले ६० रन जोडे। रहिमुल्लाह जुर्मतीले ३५, वफीउल्लाह तराखिलले १५ तथा खलेल अहमदले १३ रन जोडे। बलिङतर्फ हेमन्त धामी, गुल्सझन झा र सुवाष भण्डारीले २/२ विकेट लिए। आकाश चन्द र दिपेश कँडेलले १/१ विकेट लिए। 

यसअघि भएको खेलमा बङ्गलादेशले घरेलु टोली यूएईविरुद्ध बनाएको २२८ रन नै सबैभन्दा ठूलो स्कोर थियो।

एशिया कपमा नेपाल रहेको समूह ‘ए’ मा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् भने समूह ‘बी’ मा आयोजक यूएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्। 
एशिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ। नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ। समूहको शीर्षमा रहने २ टोली सेमिफाइनल पुग्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.