|

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सबै कुरा राम्रो भए पनि नेताहरु भ्रष्ट रहेको आरोप लगाएकी छन्।

आइतवार मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘लोकतन्त्रको प्राणः सुशासन र सद्‌भाव’ विषयक संवाद कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले देशका नेताहरु भ्रष्टाचारी भएको बताएकी हुन्।

उनले भोलि आउने नेताहरु पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउन जरुरी रहेको बताइन्। उनले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन्। 

उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने बताइन्। उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकता त्याग्नुपर्ने बताइन्।

‘हामी धेरै निराश पनि हुनुहुँदैन। सबै कुरा छ नभएको होइन। एउटै हामीसँग बेकम्मा के पर्‍यो भने भ्रष्ट नेताहरु परे तर एकदिनको कुरा होइन। भोलि आउने पनि यस्तै हुन्छन्। अहिले जो नयाँ–नयाँ भएर आएका छन् त्यो पनि त्यस्तै हुन्छ तर वातावरण बनाउनु पर्‍यो। भ्रष्टाचार नगर्ने वातावरण मुलुकमा हुनु जरुरी छ‚’ उनले भनिन्‚ ‘यिनीहरुलाई मात्रै तपाईं, हामीले दोष दिन मिल्दैन- हामीमध्ये धेरै पनि त्यस्तै छौँ। आफूलाई नहुञ्जेलसम्म बोल्ने, अनि आफूलाई भइसकेपछि पुग्ने।’

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन्। उनले नागरिकसँग भएका जेथासमेत राजनीतिक दलका कार्यकर्ताहरुले जफत गर्ने गरेको आरोप लगाइन् ।

उनले राजनीतिक दलहरुसँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ता रहेको टिप्पणीसमेत उनले गरिन्। आम नागरिक आर्थिक अभावमा भए पनि दलका कार्यकर्ताहरुसँग भने करोडौँको सम्पत्ति भएको उनको भनाई छ।

पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसंगतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताइन्। उनले संविधानमा देखिएका समस्याहरुलाई भने संशोधन गर्दै जान सकिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.