काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबार एकै दिनमा सकिएको छ।
पार्टीले केन्द्रीय समितिको बैठक मंसिर २४ र २५ गते दुई दिन बस्ने तय भएको थियो तर आन्तरिक विवाद छताछुल्ल भएपछि बैठक एकै दिनमा सकिएको हो।
लोसपा अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाउँदै पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झाले आजको बैठक नै बहिष्कार गरेका थिए। आज बैठकमा अधिकांश नेताहरूले यही विषयमा आफ्ना भनाइ राखेका थिए।
अधिकांश नेताले वरिष्ठ नेता महतो बैठकमा उपस्थित नभएकोमा चिन्ता जनाउँदै पार्टीभित्र कुनै विवाद वा समस्या भए बैठकमा राखेर नै समाधान गर्नुपर्ने बताएका थिए। आन्तरिक कलह सार्वजनिक गरेर पार्टीको बदनाम भएको उनीहरुमध्ये कतिपयको भनाइ थियो।
पार्टीका वरिष्ठ नेता एवं श्रममन्त्री शरतसिंह भण्डारीले पार्टीमा कुनै समस्या भए छलफल र संवादबाट समाधान गर्नुपर्ने बताए। सबैले बैठकमा आफ्ना कुरा राख्नु उचित हुने उनको धारण थियो।
उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि पार्टी निकै सुस्त भएको गुनासो गरे। पार्टीमा असन्तुष्टि बढ्नु स्वाभाविक भए पनि त्यसलाई संवाद र छलफलबाट समाधान गर्नुपर्ने धारणा उनको थियो। उनले केन्द्रीय समिति विस्तार गर्न बाँकी छ भने त्यसलाई पूर्णता दिन कसले रोकेको छ भन्दै प्रश्न गरे।
महासचिव केशव झाले पनि नेता महतोले उठाएको कुरामाथि गम्भीर हुन अध्यक्ष ठाकुरलाई आग्रह गरे। सचिव मनिष मिश्रले पार्टीलाई सैद्धान्तिक रूपमा क्रियाशील बनाउन आग्रह गरे।
कैलालीकी नेतृ रुपा थारुले आफूलाई राजेन्द्र महतोको मान्छे भनेर पार्टीमा भेदभाव गरिएको गुनासो गरिन्।
आजको बैठकमा करिब २५ जना नेताले आफ्ना कुरा राखेका थिए। अन्य नेताले पनि बैठकमा धारणा राख्न चाहे पनि अध्यक्ष ठाकुरले पुसमा हुने विस्तारित बैठकमा सबैले कुरा राख्न पाउने भन्दै बैठक स्थगित गरे। बैठकमा प्रस्तुत गरिएका छलफलका नौबुँदे एजेन्डा सर्वसम्मतिले पारित भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।