|

सिन्धुपाल्चोक : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने दावी गरेका छन्।​

सोमवार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दावी गरेका हुन्। उनले देश विकास र दिगो रक्षाका लागि देशभक्त, सुशासन, शान्ति, विकासप्रेमी र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालेको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए।

उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पूरा नभएको बताए। उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए।

उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न आवश्यक रहेको बताए। उनले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरू हुन नसक्ने बताए।

उनले भने, ‘सरकारमा भएका वेला दुनियाँले रोक्दारोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ। अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन। एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए, हाम्रो पार्टी फुटाए। पार्टीलाई धुलो चटाउँछौं र भित्तामा टासिदिन्छौं भने। एमाले फेरि उठेर लोकप्रिय पार्टी बनेको छ। अब डराउने र अल्मलिने अवस्था छैन। विकास निर्माणका कामलाई युद्धस्तरमा अगाडि बढाएका छौँ।’

उनले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ०८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गरे। उनले मुलुकमा नेकपा एमाले बाहेकको अरू कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.