काठमाडौँ : जनमत पार्टीले संघीय सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ। समसामयिक राजनीतिबारे छलफल गर्न आज (आइतवार) बसेको जनमत पार्टीको सचिवालय बैठकले संघीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो।
मधेश प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत संघीय सरकार पनि छाड्ने चर्चा चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो। बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।
प्रवक्ता यादवका अनुसार आजको बैठकमा पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गरे। जसमा देशको समग्र राजनीतिक प्रणाली तथा शासकीय स्वरुपबारे प्रस्ताव गरिएको छ।
बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता यादवले अन्य मन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले राम्रो काम गरेको दावीसमेत गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।