|

काठमाडौँ : जलवायु परिवर्तनको असर र सामाजिक न्यायको मुद्दा उठाउँदै काठमाडौँमा विश्व सामाजिक मञ्चको १६ औँ संस्करण शुरु भएको छ। 

अर्को विश्व सम्भव छ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले नेपालजस्ता देशमा पारेका प्रभावका कुरा उठाइने बताइएको छ। जलवायु परिवर्तनले विश्वका सीमान्तकृत समुदाय र वर्गमा पारेको नकारात्मक असरबारे आवाज उठाइने बताइएको छ।

जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभए पनि असर भने धेरै भोग्नुपरेको भन्दै नेपालले भोगेको असरबारे विश्व समुदायलाई जानकारी गराइने जनाइएको छ। त्यस्तै सामाजिक न्याय, मानवअधिकारको विषयलाई पनि मञ्चमा जोडदार रूपमा उठाइने किर्डाक नेपालका निर्देशक गोविन्द शाहीले जानकारी दिए।  

शाहीले भने,‘जलवायु परिवर्तनले हामीजस्तो गरिब मुलुकमा पारेको प्रभावका बारेमा हामीले विश्वभर सन्देश पुर्‍याउन खोजिरहेका छौँ। विभिन्न संघ, संस्था मिलेर हामीले जलवायु परिवर्तन, सामाजिक न्याय र मानवअधिकारको प्रत्याभूति गर्नका लागि हामी जोडदार आवाज उठाउन चाहन्छौँ।’

सम्मेलनको १६ औँ संस्करणमा गरिबी, विभेद र पछाडि पारिएका वर्गहरूको असमानताका विरुद्धमा आवाज उठाइने गैरसरकारी संस्था महासंघका सचिव भवराज रेग्मीले बताए।

जलवायु न्याय विज्ञ गीता पाण्डेले जलवायु परिवर्तनको मुद्दा न्यायको मुद्दा भएको बताइन्। उनले नेपाललाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि ऋण नभएर अनुदानको वकालत गर्नुपर्ने बताइन्।

सम्मेलनमा ९२ मुलुकका करिव ४० हजार मानिस सहभागी हुने बताइएको छ। सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.