|

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीवार) भएको भेटमा दुवैबीच द्विपक्षीय सम्बन्ध‚ आर्थिक सहयोगलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटमा उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताए। 

“जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय निकायबाट आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ”, उनले भने, “औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी लाभान्वित हुन चाहन्छौँ।”

त्यस अवसरमा जापानी राजदूतले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जापानबाट नेपाललाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बन्दै गएको छ। जापान नेपालको प्रमुख विकास साझेदार पनि हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.