|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन्।

आइतवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीय बासिन्दाले उक्त मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन्। स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाइ थियो। उनले काठमाडौँ–तराई फास्ट ट्रयाक र सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सो बाटो धेरै साँघुरो हुने भएकाले पनि सरकारले त्यसलाई फराकिलो हुने गरी बनाउनुपर्ने बताइन्।

सांसद कार्कीले भनिन्, ‘ललितपुरको भैंसेपाटीमा प्रदेशदेखि संघीय मन्त्रीहरूका लागि जनताबाट जग्गा लिएर, जनताकै करबाट आलिशान भवन निर्माण गर्ने तर त्यहीँका जनता भने दैनिक आवतजावत गर्नका लागि हामीलाई पनि बाटो दिनुस् भनेर हार गुहार गरिरहनुपर्ने, त्यही फाइल बोकेर कार्यालय, विभाग धाइरहनुपर्ने, आन्दोलन गरिरहनुपर्ने? सडक दुर्घटनाको सम्भावना बढ्दो छ। स्थानीयले कुरा उठाएको ५ वर्ष भइसक्यो। मैले पनि पटकपटक पत्र लेखेकी छु। राष्ट्रियसभा दिगो विकास समितिले २०७८ मा निर्देशन दिएको छ। मन्त्री पनि ५ पटक, ६ पटक फेरिइसके। बाटोको अवस्था भने फेरिएन।’

सांसद कार्कीले सडक दुर्घटनाको सम्भावनालाई ध्यानमा राखेर पनि सरकारले सो मन्त्री निवास वरपरको बाटोको उचित व्यवस्था गर्नुपर्ने बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.