|

काठमाडौँ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सधैँ कम्युनिष्टको पछि लागेर हिँड्ने हो भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।

जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई यो प्रश्न सोध्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिनेगरी पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन पनि उनले नेतृत्वमा रहेका नेताहरुलाई आग्रह गरे। 

कांग्रेसको मत प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्था अन्त्य हुनेगरी सोमवार (भोलि) शुरु हुने महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने उनको भनाई थियो। 

पार्टी महासमिति बैठकको अघिल्लो दिन आइतवार (आज) काठमाडौँमा आयोजित चियापान कार्यक्रममा उनले जनमत घटिरहेका वेला कांग्रेस पनि सरकारमा बसेको छ भनेर खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहोर्‍याए। 

उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिट्यान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि कांग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए।

‘जिल्ला घुम्दा साथीहरुको एउटै प्रश्न हुन्छ– हामी सधैँ कम्युनिष्टको पछि लागेर हिँड्ने हो? हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ‚’ उनले भने, ‘स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौँ। बहुमतमा छौँ तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको छ। भोट प्रतिशत ३४/३५ बाट घट्दै २७ प्रतिशतमा आएको छ हाम्रो। साढे ७ प्रतिशत भोट किन घटिराखेको छ भनेर विश्लेषण गरेका छैनौँ।’

उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए।

विद्यमान निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न कांग्रेसले सबै राजनीतिक दलसँग छलफल गर्न अग्रसरता लिनुपर्ने उनको प्रस्ताव छ।

‘केन्द्रमा सरकारको नेतृत्व हामीले नगरे पनि १० वटा मन्त्रालय हामीसित छ भनेर रमाइरहेका छौँ। यसलाई महासमितिका साथीहरुले अत्यन्त गम्भीर रुपले छलफल गर्नुहोला र महासमिति बैठकमा पनि यी कुराहरु राख्नु हुनेछ भन्ने विश्वास लिएको छु‚’ उनले भने, ‘दोस्रो कुरा अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन सक्दैन‚ आउन पनि सक्दैन। निर्वाचन प्रणालीमा केही परिवर्तन गर्नुपर्छ कि? भन्नेतिर पनि हामी जानुपर्छ।’

नेता कोइरालाले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभूति गर्न नसकेको जिकिरसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.