|
फाइल तस्वीर

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। आइतवार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाएका हुन्।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आजको बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री यादवले आजको मधेश प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत परेको घोषणा गरे।

प्रदेशसभामा १०७ जना सदस्य रहेकोमा आजको बैठकमा १०४ जना उपस्थित रहेका थिए। मुख्यमन्त्री यादवले पाएको मत उपस्थित सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा सभामुख मण्डलले गरे।

मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाल, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरे।

मुख्यमन्त्री यादवको विपक्षमा नेकपा एमाले र जनमत पार्टीले मतदान गरे। मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम मुख्यमन्त्री यादवले  तेस्रो पटक विश्वासको मत लिएका हुन्।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ। 

मधेश प्रदेश सरकारमा १०७ प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको एमालेको २३, कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रका ९ र एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टीको एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र ३ जना स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले जानकारी दिए।

आजको बैठकमा विभिन्न दलका नेताले सरकारको कामकाजको आलोचना गर्नुको साथै सरकारसँग विभिन्न प्रश्न राखेका थिए।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री यादवले आफू सदैव राम्रो कामको पक्षमा रहेको र आगामी दिनमा पनि राम्रो काम गर्ने प्रतिबद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.