|

काठमाडौँ : मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यहरुले गरेका छन्।

सोमवार गोदावरीमा शुरु भएको चारदिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरुले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय बैठकले लिने प्रतिक्रिया दिएका हुन्। 

न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएका छन्।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले व्यवस्थामाथि भईरहेको प्रहार निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गरे। उनले जनतामा रहेको निराशालाई आशामा बदल्न पनि महासमिति बैठक सफल हुने अपेक्षा व्यक्त गरे।

‘१४औँ महासमिति भेलाको हामी संघारमा छौँ र हरेक महासमिति भेलाले देशका सबै संकटहरुलाई पार लगाएको छ। आर्थिक मन्दीदेखि लिएर नेपालीमा छाएको निराशा चारदिने महासमिति भेलाले नेपालीलाई ऊर्जा दिन सफल हुनेछ‚’ उनले भने‚ ‘यो भेलाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाएर लैजानेमा हामी सबैलाई पूर्ण विश्वास छ।’

महासमितिका अर्का सदस्य डा. सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्वपूर्ण हुने बताए।

उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने विषयमा पनि कांग्रेसले बैठकबाट ठोस निर्णय लिने विश्वास व्यक्त गरे।

मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्त्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अंगिकार गर्नुपर्नेमा महासमितिका अर्का सदस्य भोजराज श्रेष्ठले जोड दिए। उनले जनताको समस्या समाधान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन स्पष्ट दृष्टिकोण बनाउन बैठक फलदायी हुने बताए।

‘देशमा विद्यमान अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कुरालाई निस्तेज पार्दै समृद्ध नेपाल बनाउन यो महासमिति बैठकले कांग्रेसको नीतिगत सुधार गर्नेछ‚’ उनले भने‚ ‘नेपाली जनताले भोग्दै आएका कठिनाई न्यूनीकरण गर्ने र समाजवादलाई परिष्कृत गर्ने।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.