काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरीय टोलीसँग खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ।
क्यानले आज (सोमवार) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले भारतको बरौदा र गुजरात क्रिकेट संघको टोलीसँग त्रिकोणात्मक टी-२० प्रतियोगिता खेल्नेछ।
गुजरात क्रिकेट एसोसिएशन र बरौदा क्रिकेट एसोसिएशनले फ्रेन्डशिप कप त्रिकोणात्मक टी–२० शृंखलामा नेपाललाई खेलाउने भएका हुन्।
क्यानका अनुसार सो प्रतियोगिता आगामी चैत १८ देखि चैत २५ गते (मार्च ३१ देखि अप्रिल ७) सम्म आयोजना हुनेछ।
नेपालले चैत १८ गते (मार्च ३१) र चैत २१ गते (अप्रिल ३) गुजरातसँग तथा चैत २० गते (अप्रिल २) र चैत २३ (अप्रिल ५)मा बरौदासँग खेल्नेछ।
लिग चरणमा तीनै टोलीले अर्को टोलीसँग २ खेल खेलेपछि शीर्ष २ टोली उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।
टी-२० विश्वकप आगामी जेठ १८ गते (जुन १) देखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदै छ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।