काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश बनाउने खाका तयार पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
जनकपुरधाममा सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेशले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले देश निर्माणको खाका तयार पार्न दाहाल र ओलीलाई पटकपटक आग्रह गरेको बताए। उनले राजनीतिज्ञ, बुद्धिजीवी, अनुभवप्राप्त व्यक्ति एकै ठाउँमा बसेर देश निर्माणको खाका तयार पार्न आवश्यक रहेको बताए।
‘मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ। प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु’, उनले भने ‘हामी बसौँ। अनुभव भएकाहरू बसौँ। अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरू। विज्ञहरू सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी।’
उनले देशभरका सडक खाल्डाखुल्डीरहित हुनुपर्ने बताए। चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको पनि उनले बताए। नेपालमा कति वटा हवाइ मैदान चाहिन्छ, कहाँ कहाँ चाहिन्छ ? भन्ने विषयको अध्ययन राम्रोसँग हुनुपर्ने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।