|

काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मुलुकको वर्तमान अवस्था सहज नरहेको भन्दै यतातर्फ ध्यान केन्द्रित हुनुपर्ने आवश्यक औंल्याएको छ। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले आज (मंगलबार) पेस गरेका नीति प्रतिवेदनमा देशमा विद्यमान विभिन्न चुनौतीहरू औँल्याइएको छ। 

प्रतिवेदनमा संविधानको व्यवहारिक र प्रभावकारी कार्यान्वयन हुन नसक्नु, सार्वजनिक संघसंस्थाप्रतिको घट्दो विश्वास, लम्बिँदो संक्रमण, बढ्दो असमानता र नागरिकमा देखा परेको निराशालगायतलाई कांग्रेसले अहिलेको चुनौतीका रुपमा उल्लेख गरेको छ।  

यी हुन् कांग्रेसले औंल्याएका चुनौतीहरू :–

संविधानको व्यावहारिक र प्रभावकारी कार्यान्वयनको सवाल : वि.सं. २००३ साल देखिनै नेपाली कांग्रेसले लिपिबद्ध गर्दै र भन्दै आइरहेको नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता, बालिग मताधिकार, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायालय, समावेशीकरण, लोकतान्त्रिक समाजवादी अर्थ राजनीतिक व्यवस्था, अधिकार, श्रोत र साधनको विकेन्द्रीकरण, विधिको शासन लगायतका विषय समावेश गरी वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भयो। नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था त थिएन तर पनि नेपाली कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो। देश लोकतान्त्रिक बाटोमा गयो। 
यद्यपि जति मेहनत र होसियारीका साथ संविधान बनेको भएता पनि केही असन्तुष्टि फेरि पनि बाँकी रहे। यस विषम परिस्थितिलाई सम्हाल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले दुई पटक तीनै तहको निर्वाचन सम्पन्न गर्‍यो। यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हक लगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने कतिपय कानुनको निर्माणमा अझै पनि काम गर्न बाँकी छ। 

लम्बिँदो संक्रमण र नागरिकका दुःख : राजनीतिक स्थायित्व, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा संक्रमणकालीन अवस्था लम्बिइरहेको छ। सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न सकेका छैनन्। यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितोसेवा प्रवाह हुन सकेको छैन। समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न सकेका छैनन्। यसले गर्दा नागरिकका दुःख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन सकेको छैन।  

सार्वजनिक सङ्घसंस्था प्रतिको घट्दो विश्वास : नेपालका सरकारी  सङ्घसंस्था, संवैधानिक अङ्ग, संसद् तथा यस अन्र्तगतका निकाय तथा समिति लगायतका अन्य सार्वजनिक निकाय तथा सङ्घसंस्थाले नागरिकको विश्वास जित्न नसकेको हो कि भन्ने भावनाको विकास हुन थालेको छ। सार्वजनिक सङ्घसंस्था र निकायमा भएको दलीयकरण र राज्यले प्रदान गर्ने सार्वजनिक सेवा तथा कार्यको गुणस्तर कमजोर भयो भन्ने आमनागरिकको गुनासो छ। नागरिकका यस्ता गुनासा तथा सरोकारलाई समयमै प्रभावकारी ढङ्गले सम्बोधन गर्न नसक्दा सार्वजनिक सङ्घसंस्थामाथि नागरिकको अविश्वास विस्तारै बढ्दोछ।  

बढ्दो असमानता : नेपाली समाजमा विभिन्न खालका असमानताहरू बढ्दै गइरहेका छन्। आर्थिक रूपमा सम्पन्न र विपन्न बीचको खाडल झन् फराकिलो हुँदै गएको छ। कुनै समयमा जमिन माथिको स्वामित्वले असमानता बढाएको थियो तर अहिले प्राकृतिक स्रोत साधनको असमान वितरण, शक्ति तथा स्रोत माथिको असमान पहुँच (ज्ञछ) लगायतका कारणले असमानता बढाउँदै लगेकोस्थिति छ। एउटा वर्ग आर्थिक रूपमा सम्पन्न हुने र अर्को वर्ग विपन्न हुँदै जाने अवस्था सिर्जना हुन थालेकोछ।  

नागरिकस्तरमा रहेको निराशा : विविध विषम परिस्थिति तथा चुनौतीहरूका कारण नागरिकस्तरमा निराशा बढ्दो छ। द्वन्द्वग्रस्त अवस्थामा पुगेको मुलुकलाई नेपाली कांग्रेसले सम्हाल्दै सबै शक्तिलाई विश्वासमा लिई निकास दिएर मूलबाटोमा त फर्काएको छ तर पनि अझै शान्ति प्रक्रियाका कतिपय काम बाँकी छन्। जनआन्दोलनपछिको करिब १८ वर्षको अवधिमा देशले विकास, समुन्नति तथा आर्थिक बृद्धिमा धेरै काम गरिसक्नुपर्ने थियो। देशले स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने थियो तर विविध कारणले त्यसो हुन सकिरहेको छैन। देशमा द्रुत आर्थिक विकासको अभाव छ। आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकिरहेको छैन। 

नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै आशा र भरोशा कायम गरी समुन्नत मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ। महासमिति सदस्य साथीहरू, आम तहमा रहेका कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी हुन खोजेको छ। समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नु पर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ। मूलतः लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको छ। 

लोकरिझ्याइँ : दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रस्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नु नै लोकरिझ्याइँ हो। त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन। न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य। न त लोकतन्त्र प्रतिको प्रतिवद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै। यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्नशील छन्।  

अधिनायकवाद : निराशा बेच्दै काल्पनिक सपनाकोहावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो। अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र बिरोधी नै हुन्। उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको वृहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी। भर्खरै स्थिरताको लय समात्दैगरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन्। 

पुनरुत्थानको कुचेष्टा : राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ छ। यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू पनि देखिएका छन्। राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो। इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन। पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, यो केवल अर्थहीन कुचेष्टा मात्रै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.