काठमाडौँ : हिजो (सोमबार) रातिबाट सामाजिक सञ्जालमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएको भन्दै बधाईको ओइरो लाग्यो। उनका निकट व्यक्तिहरूले उपकुलपति नियुक्त भएको भन्दै शुभकामना दिँदै सामाजिक सञ्जालमा सेयर गरे।
उक्त कुरा हालसम्म आधिकारिक नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नै प्रष्टीकरण दिएका छन्। आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको गोरखा पत्रकार समाजको नवनियुक्त प्रतिनिधिमण्डलसँग उनले उक्त कुरा बताएका छन्। भिसी नियुक्तिबारेको सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले प्रचण्डले भने ‘यसमा देवेन्द्रजीले हतार गर्नुभयो तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ।’
उनका भनाइमा सोमबार राति माओवादीका नेता देवेन्द्र पौडेलले प्रा.डा. चित्रबहादुर बुढाथोकी उपकुलपति नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा बधाई दिएपछि सोही आधारमा बुढाथोकीलाई बधाई दिनेको ओइरो लागेको हो। बागलुङका बुढाथोकी र पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेल बागलुङका सांसद हुन्।
उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत आइतबार १४ जनाको सर्टलिष्टमध्ये अन्तरवार्ता सकिएलगत्तै १ नम्बरमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्रा.डा. केशरजंग बराल र तेस्रो नम्बरमा प्रा.डा. टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं त्रिविका कुलपतिकहाँ सिफारिस गरेको थियो।
समितिले सिफारिस गरेको आधारमा कार्यविधिले तय गरेको १०० नम्बरमध्ये बुढाथोकीले ७८ नम्बर, बरालले ७६ नम्बर र धमलाले ७५ अंक प्राप्त गरेका छन्।स्रोतका अनुसार नम्बरका आधारमा भन्दा पनि त्रिविकै माओवादी निकट प्राध्यापकहरूको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर माओवादी निकट मानिएका बराललाई उपकुलपति बनाउन दबाव दिएका छन्।
प्रधानमन्त्री दाहालले पनि बराललाई उपकुलपति नियुक्त गर्न चाहेका छन् तर पूर्व शिक्षामन्त्री पौडेलले भने १ नम्बरमा सिफारिस भएका बुढाथोकीलाई उपकुलपति नियुक्त गर्नुपर्ने अडान लिएका छन्। बुढाथोकीले यतिवेला धेरै जनाबाट फोन गराउन लगाइरहेको बताइएको छ। भिसी नियुक्त भएको भन्नेबारे बुझ्न सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।
छनोट समितिले प्राप्ताङ्क सार्वजनिक गरेपछि विभिन्न टीकाटिप्पणी हुन थालेको छ। कतिपयले नम्बरमा मेरिटको आधारमा बुढाथोकीलाई नियुक्त गर्नुपर्ने बताइरहेका छन् भने कतिपयले बराल र धमलालाई नियुक्त गर्नुपर्ने बताएका छन्।
शिक्षामन्त्री अशोक कुमार राईका स्वकीय सचिव युवराज राईका अनुसार आज भिसी नियुक्त गर्ने तयारी छ। ‘अहिले विभिन्न अनलाइन मिडियामा भिसी नियुक्त भइसकेको भन्ने हल्ला छ, त्यो सत्य होइन,आज चाहिँ नियुक्त गर्ने भन्ने तयारी छ। अब कसलाई हुन्छ भन्न सकिँदैन’, उनले भने।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै भिसी पद खाली छ। कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालको भरमा त्रिवि चलेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।