|

काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नु नेपाली काँग्रेसको प्रमुख नीति हुने बताएका छन्।

मंगलवार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु नेपाली काँग्रेसको प्रमुख नीति भएको बताएका हुन्। उनले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली काँग्रेसले मूल नीतिको रूपमा स्विकार्ने बताए।

उनले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताए। उनले काँग्रेसले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्ने स्पष्ट पारे।

उनले वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद र आशालाग्दो संकेत भएको उल्लेख गरे। उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताए।

खड्काले भने, ‘संविधानको आधारभूत संरचनामा प्रतिकूल असर नपर्ने गरी आवश्यकतानुसार संविधान संशोधनप्रति नेपाली काँग्रेस खुला छ। सुशासन र भ्रष्टाचार नियन्त्रण आमनागरिकको चासो र सरोकारको विषय हो। नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार हो। सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली काँग्रेस मूल नीतिको रूपमा स्विकार्छ।’

खड्काले संविधानको आधारभूत संरचनामा प्रतिकूल असर नपर्ने गरी आवश्यकतानुसार संविधान संशोधन गर्न नेपाली काँग्रेस खुला रहेको स्पष्ट पारे। उनले संविधान संशोधनको आवश्यक नेतृत्व पनि नेपाली काँग्रेस आफैँले लिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.