|

काठमाडौं : अर्थ मन्त्रालय सम्हालिरहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन्। गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेश गरेको आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्तावमार्फत उनले यस्तो दाबी गरेका हुन्। 

प्रतिवेदनमा महतले आफूले अर्थ मन्त्रालय सम्हालेपछि खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको जिकिर गरेका छन्। उनले पर्यटक आगमन, होटल र रेस्टुराँ, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको, विप्रेषण उल्लेखनीय रूपमा बढेको, विद्युत् उत्पादन र निर्यात बढेको, घरजग्गा क्षेत्र केही चलायमान हुने संकेत देखिएको, सार्वजनिक खर्च बढ्दो क्रममा रहेको उल्लेख गरेका छन्।

आगामी दिनमा पुँजीगत खर्च बढ्ने आश्वासन दिएका महतले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न प्रयत्नशील रहेको उल्लेख गरेका छन्। 

महतको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामी प्रयत्नशील छौं। हाल बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज रही लगानीयोग्य पुँजी पर्याप्त रहेकाले लगानीको लागत कम भई उत्पादन वृद्धि हुने अपेक्षा रहेको छ। साथै, जल विद्युत्, पर्यटन, कृषिमा व्यवसायीकरण र सूचना प्रविधि उद्योगलाई सम्भावनाका क्षेत्रको रूपमा पहिचान गरी लगानी बढाउने नीति लिइएकाले दूरदराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुनेछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.