काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्।
राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो।
२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो। काठमाडौं महानगरपालिकाको राजश्व विभागका अनुसार त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल‚ भद्रकाली‚ भृकुटीमण्डपलगायत क्षेत्रमा १ हजार ४८ वटा सोलार बत्ती जडान गर्न बिके ट्रेडर्स एण्ड सप्लायर्स कम्पनीले स्वीकृति पाएको थियो।
तर कम्पनीले करिब ८ सय बत्तीमात्र जडान गरेको थियो। सम्झौतामा कम्पनीले आफैँ खर्चे गरेर बत्ती राख्नेवापत सोलारको पोलमा विज्ञापन राख्न पाउने सम्झौता भएको थियो।
सोलार राखेपछि मर्मतसम्भार महानगरपालिकाले नभई त्यही कम्पनीले नै गर्नुपर्ने र कम्पनीले प्रत्येक १/१ महिनामा सोलार प्यानल सफा गर्नुपर्ने पनि सम्झौता भएको थियो तर सोही सम्झौताअनुसार प्यानल सफा नभएका कारण राति अधिकांश बत्ती बलेका थिएनन्।
प्राधिकरण भन्छ : स्मार्ट लाइट जडान गर्न हटाएका हौँ
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले स्मार्ट लाइट जडान गर्न त्यस क्षेत्रका सबै सोलार बत्ती हटाएको जानकारी दिए।
‘हामीले अब त्यहाँ अर्को पोखरा, भैरहवामा जडान भएकोजस्तै स्मार्ट बत्ती जडान गर्न लागेका छौँ, त्यसैले सोलार प्यानल हटाएका हौँ,’ उनले भने।
प्राधिकरणका अनुसार पर्यटकीय शहर पोखराका मुख्य सडकमा २ हजारभन्दा बढी स्मार्ट बत्ती जडान गरिएको छ। महानगरका २३ मुख्य चोकमा १/१ हाइमस्ट लाइट जडान गरिएको छ।
सडक बत्ती ९० वाट र १२० वाट गरी दुई प्रकारका छन् भने हाइमस्ट लाइटको क्षमता १ हजार ६ सय वाट रहेकाे प्राधिकरणले जनाएकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।