|

पर्वत : मंगलवार विहान मौसममा एकाएक आएको परिवर्तनले किसान खुशी हुँदै थिए। हिउँदमा वर्षा नभई गर्मी शुरु हुन लागे जस्तैगरी सोमवार तापक्रम बढेको आभाष हुन्थ्यो। सिँचाइ अभावले खेतमा लगाएको बाली यत्तिकै ठिम्रिएर बसेको वेला अब मकै छर्ने समय हुनै लागिसकेको छ।

मकै छर्ने वेला हुनलाग्दासमेत अहिलेसम्म खेत पनि जोतिएको छैन। कात्तिक मंसिरमा धान थन्क्याएलगत्तै हुने वर्षापछि खेतका बाँझा गरा खनजोत गरेर मकै खेतीका लागि तयार पारेर राख्नुपर्ने हो। 

कतिपय किसानले पटपटी सुकेका बाँझा गरा जबरजस्ती जोतेरै भए पनि मकै छर्न तयार पारेको भए पनि कतिपय किसान अझै पनि पानी पर्ने आसमा बसेका छन्।

मंगलवार विहान एकाएक मौसम फेरियो‚ आकाश धुम्मियो। विहानै धुम्म भएको मौसमबीच केही बेरमा नै वर्षा भयो तर केही मिनेटभन्दा बढी नपरेको वर्षाले किसानलाई खुशी बनाउन सकेन।

लामो समयसम्म खडेरीकै अवस्था बेहोरेका कृषकले वर्षासँगै उत्पादन बढ्ने अपेक्षामा थिए तर वर्षा रोकियो। अकासे पानीले बाटोको धूलोसमेत राम्ररी मार्न सकेन।

‘धान थन्क्याएपछि वर्षा हुन्थ्यो। पानी परेपछि बाँझो खेत जोत्न कमलो हुन्थ्यो। गोरुलाई पनि त्यति गाह्रो हुँदैन। वर्षा होला कि भन्दै पर्खिँदै बसियो। आज परेको पानीले सतहको धूलो पनि राम्ररी मार्न सकेन न खेत भिज्यो,’ फलेवास नगरपालिका–३ शंकरपोखरीका किसान विष्णु भण्डारीले भने, ‘पानी नपरीकनै गर्मी शुरु भयो। न त हिउँदे खेतीमा सिँचाइ भयो‚ न अब मकै खेती नै गतिलो हुने भयो।’

जिल्लाको कुश्मा नगरपालिका–४ अर्मादीका महेन्द्रकुमार जोशीले वर्षा नहुँदा लगाएका बाली नै यत्तिकै सुकेको बताए।

‘असोजमा धान काट्नुअघि वर्षा परेको भए पनि त्यसयता पानी परेको थिएन‚’ उनले भने‚ ‘अब खेतीपातीका लागि चाहिने पानी पर्‍यो भनेको त बिरुवाका जरा पनि गतिलोसँग भिज्न पाएनन्।’

यो वेलामा खेतबारीमा जौ, गहुँ, तोरी, फापर, आलुलगायतका खाद्यान्न बाली लगाइएका छन्। हिउँदको समयमा चौपायालाई हरियो घाँस खुवाउन जै घाँस पनि यही बेलाका लागि छरिएको हुन्छ।

तर वर्षाको अभावमा कुनै पनि बाली फस्टाउन सकेका छैनन्। सिँचाइको सुविधा भएको ठाउँमा सिँचाइ गरेर बाली सप्रिएको भए पनि जिल्लाका अधिकांश क्षेत्रका किसान भने अकासे वर्षाको भरपर्दै आइरहेका छन्।

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका कार्यालय प्रमुख परशुराम अधिकारीले यो वेलामा जमिनको आँत भिज्ने गरी वर्षा भइदिएको भए खेतीमा धेरै सहयोग हुने भए पनि खासै पानी नपरेको बताए।

चिस्यानबिना जोतिएका खेतमा डल्ला आउने र डल्लामा परेको मकै नउम्रिने भएकाले उत्पादनमा ह्रास आउन सक्ने उनको भनाइ छ।

मंगलवार मध्याह्नसम्म वर्षाको सम्भावना रहेजस्तो मौसम देखिएको भए पनि अपराह्नपछि भने घाम लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.