काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरुले पार्टीको संसदीय भूमिका कमजोर भएको गुनासो गरेका छन्।
बुधवार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनले विकास निर्माणसम्बन्धी र जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्ने आवाज उठेको बताए।
उनले आजको बैठकमा विभाजित भएका नौवटा समूहमा पार्टीमा प्रस्तुत भएका चारवटा कार्य योजनासहितका अवधारणाहरुमाथि सविस्तार छलफल भएको बताए। उनले बिहीवारको बैठकमा छलफल भएका कुरालाई राख्नेगरी नेतृत्व तोकिएको बताए।
‘केन्द्रीय कमिटीको बैठकमा नौवटा समूहमा पार्टीमा प्रस्तुत भएका चारवटा कार्य योजनासहितका अवधारणाहरुमाथि सविस्तार छलफल भएको छ। आजका प्रतिवेदनमा संसदीय क्षेत्रको काम कमजोर भयो, संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन‚’ उनले भने‚ ‘र जनताका मुद्दामा केन्द्रित हुनका लागि बहसमा मुद्दा उठेका छन्। विकास निर्माणसम्बन्धी जनताका सरोकारका मुद्दामा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्छ भनेर बहस भएको छ।’
उनले प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटी व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।