|

काठमाडौँ : आम निर्वाचनअघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाली काँग्रेसका महासमिति सदस्यहरू पक्ष र विपक्षमा बाँडिएका छन्। 

नेपाली काँग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरूले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरू राखेका हुन्। महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आम निर्वाचनअघि गठबन्धन गर्नु नहुने प्रस्ताव गरेसँगै महासमिति सदस्यहरू यसको पक्ष र विपक्षमा विभक्त भएका हुन्।

महासमिति बैठक स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने वेला नभएको बताए। उनले आगामी निर्वाचनमा विरोधीहरू एकै ठाउँमा उभिएमा काँग्रेसले विरोधीहरूलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुनसक्ने भन्दै तत्कालीन अवस्थामा भर पर्ने बताए। उनले निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने बताए।

बस्नेतले भने, ‘चुनाव एक्लै लड्नुपर्छ भन्ने मानसिकताका साथ संगठन गर्नुपर्छ। एक्लै लड्ने हो भनेर तयारी गर्ने हो। लड्नुपर्दा काँग्रेसभन्दा बाहेकका सबै एक ठाउँमा आउने भए भने त्यो वेला उनीहरूलाई काँग्रेस कसै न कसैसँग मिलेर गठबन्धनमा जाने परिस्थिति सिर्जना पनि हुनसक्छ। अहिलेदेखि नै गठबन्धन गर्ने भनेर हिँड्ने कुरा सम्भव छैन।’

नेता रामहरि खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमी बाजा भएको धेरै महासमिति सदस्यले टिप्पणी गरेको बताए। उनले देशको अर्थनीति जनमैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको जानकारी दिए।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताए। उनले पार्टी विधानअनुरूप नचलेको कुरा बैठकमा प्राथमिकताका साथ उठाइएको बताए।

नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रले महासमितिको बैठकमा भुईंमान्छेका आवाज सुनिनुपर्ने बताइन्। उनले जनतालाई आशाको सन्देश दिनुपर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.