ललितपुर : नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन्।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।
बैठकमा कांग्रेस गोरखाका महासमिति सदस्य प्रकाशचन्द्र दवाडीले पार्टीबाट टिकट लिएर चुनाव जितेपछि जनताको घरदैलोमा जनप्रतिनिधि नपुग्दा समस्या परेको बताए।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्न सकेमात्र पार्टी बलियो हुने बताए। पार्टीलाई शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापनमा सहज हुने उनको भनाइ छ।
कांग्रेस धनकुटा सभापति दिनेश राईले कोशीमा प्रदेश नामाङ्कको विषय पेचिलो बन्दै गएको भन्दै उक्त विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए।
बैठकमा ललितपुरका महासमिति सदस्य कवेलबहादुर लामाले विगतमा नेताहरुको निर्णयको कमजोरीले गर्दा माओवादी र एमालेबीच गठबन्धन भएको र सोही कारणबाट असक्षम व्यक्तिले राजनीति नियुक्ति पाएर जिम्मेवारीमा रहँदा समस्या भएको बताए।
महासमिति सदस्य शेखर खड्का, विमल सुवेदी र विष्णु पोखरेलले बैठकमा महामन्त्रीले राखेको प्रस्तावमाथि समर्थन जनाउँदै प्रतिवेदनलाई अक्षरशः पालना गरे पार्टी चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं महासमिति सदस्य बालकृष्ण पाण्डेले विश्वभरी छरिएर रहेका नेपालीका बारेमा पार्टीले स्प्रष्ट धारणा बनाउनुपर्ने बताए।
महासमिति सदस्य उमा थापामगरले सरकार र पार्टीका हरेक संरचनामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार दिएको भन्दै उक्त अधिकार अपुग भएको उल्लेख गरिन्।
कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टयाउन नमिल्ने बताए। उनले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य मनकुमारी विश्वकर्माले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन निश्चित समयमा तोकिएकै मितिमा गराउन बाध्यकारी विधान बनाउनुपर्ने बताइन्।
कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले कांग्रेसलाई कसरी सुधारेर लैजाने भन्ने कुरा प्रतिवेदनमा अपुग भएको बताए। महासमिति सदस्य एवं नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रलाई समेट्ने गरी कांग्रेसले कुनै पनि प्रस्ताव ल्याउन नसकेको बताए।
महासमिति बैठकमा चार समूहमा छलफल भइरहेको छ। जातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु भएको कांग्रेस महासमितिको बैठक भोलि फागुन १० गते सकिँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।