|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका हुन्।

त्यस्तै, अख्तियारको छानविनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती पनि पदमा बस्न नमिल्ने उनले बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानुनविपरीत ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताए।

उनले भने, ‘उहाँको पर्यटनमन्त्रीले सिफारिस गरेको, उहाँले नियुक्त गरेको ल्यारक्याल लामाले लुम्बिनी बिकास कोषको हैसियतमा लुम्बिनीको रामग्राममा गरेको कामलाई सम्पूर्ण सरकारी माध्यमहरु, सम्बन्धित निकायहरु र लेखा समितिले समेत अनुपयुक्त र नियम र कानून विपरित ठहर्‍याउँछ र उहाँले ती सबै फिर्ता लिनुहुन्छ। '

उनले अगाडि भनेका छन्, 'त्यस्ताका लहैलहैमा लागेर प्रधानमन्त्री त्यो कार्यक्रमको उद्घाटन गर्न जानुहुन्छ । यो के हो तागतले? अनि प्रधानमन्त्रीले नैतिकताको भाषण गरेर हिँड्न मिल्छ? नैतिक रुपमा पर्यटनमन्त्री र ल्यारक्याल लामालाई उहाँले हटाउनुपर्छ उहाँ यदि नैतिकतामा विश्वास गर्ने हो भने र उहाँले आफैले पनि जनताको अगाडी जवाफ दिनुपर्छ किन जानुभयो त्यहाँ ?

अवैधानिक कामको उद्घाटन गर्न ? झण्डा हल्लाउँदै मन्त्री बयान दिन गएको दुर्शशापूर्ण स्थिति यसैपालि देखियो। अविलम्ब विवादमा परेका मन्त्रीहरुले राजीनामा दिनुपर्‍यो। बालकुमारी घटना हुनासाथ सम्बन्धित मन्त्रीले त्यही दिन राजीनामा दिनुपर्‍थ्यो।’

उनले तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.