काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई छायाँ सेन्टर र बालमन्दिरको सार्वजनिक जग्गा संरक्षणको लागि कहिले जानुहुन्छ? भन्दै प्रश्न गरेका छन्। बिहीबार भएको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्।
‘काठमाडौंका मेयरलाई पनि सोध्न चाहन्छु,सार्वजनिक जग्गा बालुवाटारतिर त जानुभयो,छायाँ सेन्टर र बालमन्दिरको जग्गा तिर कहिले जानुहुन्छ,मेयर साहेब, त्यो पनि जनताले हेरिरहेका छन्।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि बैठकमा छायादेवी कम्प्लेसलगायत अन्य सार्वजनिक जग्गा हडप्नेहरूलाई कारबाही गर्न माग गरे।
कमलपोखरी र डिलसमेत गरी साढे २६ रोपनी जग्गामा हाल १५ तले छायाँदेवी कम्प्लेस भवन ठडिएको छ। सम्पदा अभियन्ता एवं ठमेलस्थित पुरातात्त्विक कमलपोखरी पुनःस्थापना अभियानका अध्यक्ष भागवत नरसिंह प्रधानले शक्तिको आडमा भवन बनाइएको बताए। राज्यले यसप्रति कुनै वास्ता नगरेको उनको गुनासो छ।
सांसदहरूले पनि उक्त भवन भत्काउन माग गर्दै आएका छन्। २०७९ चैत ३० गतेको प्रतिनिधिसभा बैठकमा पनि नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले सार्वजनिक पोखरी मिचेर व्यक्तिको नाममा दर्ता गराई व्यापारिक भवन ‘छायाँदेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरेका थिए।
उनले भनेका थिए, ‘काठमाडौं ठमेलस्थित बौद्ध विहारको सरकारी कमलपोखरी र वरपरको सरकारी जग्गासमेत ३० र ३५ रोपनी व्यक्तिको नाममा दर्ता गरी व्यापारिक भवन बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन जरुरी छ।’ यसैगरी विवादित छायाँदेवी कम्प्लेस भत्काउन निरन्तर माग हुँदा पनि सरकारको बेवास्ता हुँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।