|

काठमाडौँ : नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिहरूको हातमा गएको बताएका छन्।


बिहीवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताएका हुन्। उनले गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था केही सीमित व्यक्तिहरूको हातमा पुगेको बताए।

उनले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुरा रहेको भन्दै यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्‍याएको बताए। उनले विकास निर्माणका काम पनि लथालिंग रहेको र काम नहुँदा कानूनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गरे। उनले अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताए।

भण्डारीले भने, ‘१०-१२ जनाको हातमा बैंक, उद्योग, बिमा छ। उसैको हातमा जलस्रोतको लाइसेन्स, हस्पिटल, स्कुल र जमिन खन्ने लाइसेन्स छ। अब यो देश कसरी बन्छ ? एउटा सरकारले चाहेर त्यहाँबाट कसरी निस्किन सक्छ ? हाम्रो आर्थिक नीतिको गलत कार्यक्रम र नीतिले गर्दा सीमित व्यक्तिको हातमा अर्थव्यवस्था गयो। सायद दुनियाँमा यस्तो कुनै पनि देशमा देखिएको छैन। हामीले शुरु गरेका विकास निर्माणका काम २० औँ वर्षमा सकिँदैन। यो अवस्थामा मुलुकलाई कसरी अगाडि बढाउन सक्छौँ ? यसबारेमा संवेदनशील हामी कहिलेदेखि हुनसक्छौँ?’

सांसद भण्डारीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताए। उनले नेपालभित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गरे।

उनले किसानको नाममा अनुदान अरूले नै खाने गरेको भन्दै तिनीहरूलाई के गर्ने भनेर प्रश्न समेत गरे। उनले नेपाली कपडामात्र लगाउने नीति बनाउन सके राज्यको अर्बौं रुपैयाँ बच्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.