|

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नो पार्टीकै हुने दावी गरेका छन्।

सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग उनले राष्ट्रियसभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दावी रहेको जिकिर गरे। 

उनले हालसम्म गठबन्धन दलहरुबीच अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको पनि बताए। उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रियसभा अध्यक्ष आफूहरुकै हुने बताए।

‘राष्ट्रियसभाको सबभन्दा ठूलो दल हाम्रो हो। अध्यक्षमा उसले दावी नगरे कसले गर्छ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन‚’ उनले भने‚ ‘ठूलो दलले दावी नगरे कसले गर्ने? भोलि सरकारको आलोपालो होला। त्यतिवेला हामी त संसदमा पनि हुँदैनौँ‚ सरकारमा पनि हुँदैनौँ। सबैतिर शून्य हुन्छ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने बताए। 

उनले कांग्रेस महासमिति बैठकमा जनयुद्धलगायत कतिपय विषयमा प्रश्न गरेका हुनाले त्यसमा आफूहरुको आपत्ति रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.