काठमाडौँ : संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेको घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन्।
अहिले मन्त्रालयमा बैठक चलिरहेको छ। बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत सहभागी रहेको गृहमन्त्रालयले जनाएको छ।
प्राप्त जानकारी अनुसार आज सोमबार संसद् भवनमा भएको घटनाबारे मन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग जानकारी मागेका छन्। सुरक्षा निकायको कमजोरी कसरी भयो भनेर उनले प्रश्न गरेका छन्।
सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।
समितिमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन्। निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।