हेटौँडा : बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेटको सन्दर्भमा भएको सहमति कार्यान्वय गर्न माग गरेको छ।
मंगलवार बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेसहित राप्रपा र नेमकिपा पार्टीका सांसदहरुले पुरक बजेट ल्याएर भए पनि प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरेका हुन्।
बैठकमा बोल्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रतिपक्षसँग भएको सम्झौता सरकारलाई बेइमानी गर्ने छुट नभएको बताए।
‘गत वर्ष ल्याएको बजेटमा सरकारबाट असमानता भएको छ। सबै सांसदहरुलाई दुव्र्यवहार गरिएको छ।
४०/४५ प्रतिशत पनि खर्च गर्न नसक्ने पुँजिगत खर्चमा सरकार छ तर, प्रतिपक्षीलाई ५०/६० करोड दिन कन्जुस्याईं गरेको छ,’ उनले भने, ‘सरकारको ढुकुटी एक पक्षले बाँड्न पाउँदैन। ’
बजेटको सन्दर्भमा त्रुटि भयो भनेर मुख्यमन्त्री र अर्थमन्त्रीले आफैँले स्वीकार गरे प्रतिपक्षसँग सम्झौता गरे पनि सरकाबाट राजनीतिक बेइमानी भएको थपलियाले आरोप लगाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले पनि बजेटमा विभेद भएको बताए।
विपक्षी दलका नेताले योजना माग गर्दा ८ लागको योजना दिएको तर सत्तारुढ दलका समानुपातिक सांसदको योजना भने ५ करोडसम्मको रहेको उनको आरोप थियो।
नेपाल मजदुर किशान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले आफूसँग भएको बजेटसमेत खर्च गर्ने ल्याकत नराखेको आरोप लगाएका छन्। योजनाहरु अलपत्र पारेर सरकार मस्त बसिरहेको उनले बताए।
सरकारका तर्फबाट उद्योग वाणिज्य भूमि तथा प्रशासन तथा कार्यबहाक आर्थिक मामिला तथा योजनामन्त्री रामकृष्ण चित्रकारले देश संघीयतामा गएपछि जनताले प्रदेशप्रति ठूलो अपेक्षा राखिएको बताए। प्रतिपक्षसँग भएको विषयलाई सरकारले गम्भिर रुपमा ग्रहण गरेको बताए।
त्यसैगरी सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकालले सरकार र प्रतिपक्षीबीच भएको सहमति कार्वान्वयनको विषयमा जिम्मेवार रुपमा अगाडि बढ्न चाहे पनि केही बाध्यताका कारण समस्या भएको बताए।
पुरक बजेट ल्याउन समस्या रहेको र अख्तियारको पत्रका कारण सरकारलाई कार्यान्वयनमा समस्या भएको उनको भनाइ थियो। यद्यपि उनले सरकार विपक्षी दलहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
आज बसेको हिउँदे अधिवेशनले प्रदेशसभाले बागमतीका पूर्व सांसद एवम् पूर्वमन्त्री बलाराम पौडेलको निधनमा शोक प्रस्ताव पारित भएको छ। प्रदेशसभाको बैठक भोलि बुधबार बिहान साढे ११ बजे पुन बस्ने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।