ललितपुर : प्रथम बीपी स्मृति राष्ट्रिय उसु सान्डा प्रतियोगिता आगामी बैशाखमा हुने भएको छ।
ललितपुर उसु संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाटन मंगलबजारमा हुने प्रतियोगितामा सातै प्रदेशका टिम, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबका गरी १० टिमको सहभागिता रहने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
आगामी वैशाख १३ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगिता अन्तरराष्ट्रिय उसु महासंघको उसु सान्डा नियमअनुसार खेलाइने संघका अध्यक्ष पञ्चराम महर्जनले बताए।
उनका अनुसार प्रतियोगिताको पुरुषतर्फ ४८ केजी, ५३ केजी, ५६ केजी, ६० केजी, ६५ केजी, ७० केजी तथा महिलातर्फ ४८ केजी, ५२ केजी, ५६ केजी र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।
हरेक तौल समूहका पहिलो र दोस्रो खेलाडीले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन्। संयुक्त रुपमा तृतीय हुने दुई खेलाडीले २५ सय रुपैयाँ पुरस्कार पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बताए।
उनका अनुसार सर्वोत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन्। टिमतर्फ पहिलोले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने टिमले १५ हजार रुपैयाँ पाउनेछन्।
प्रत्येक टिमबाट १०–१० जना गरी १ सयजना खेलाडीको सहभागिता हुने संघका अध्यक्ष मर्हजनले बताए।
प्रतियोगिताका लागि ३१ लाख १२ हजार ५ सय रुपैयाँ अनुमानित बजेट रहेको छ।
उसु खेल र खेलकुदको विकासका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने प्रतियोगिताको परिकल्पनाकार एवं बाग्मती प्रदेश सदस्य मीनकृष्ण मर्हजनले जानकारी दिए।
उसु चिनियाँ परम्परागत खेल हो । उसुकै एक विधा सान्डा हो । जसमा दुई प्रतिद्वन्द्वीबीच बक्सिङ, किकिङ, रेस्लिङ टेक्निक प्रयोग गरी खेलिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।