|

काठमाडौँ : अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली भाषीहरूलाई एकसूत्रमा बाँध्न 'मेगा प्रोजेक्ट’को थालनी भएको छ।

नेपाली भाषीहरुको एकता, उनीहरूको आस्थाको सम्मान र नेपाली संस्कृतिको संरक्षणका लागि सिड्नीमा 'बहुआयामिक, बहुसाँस्कृतिक’ भवन निर्माणमा त्यहाँ कार्यरत नेपालीहरू जुटेका हुन्।

नेपाली समुदायकै स्वामित्वमा रहने गरी बहुउद्देश्यीय, बहुआयामिक र बहुसाँस्कृतिक भवन बनाउने अभियानको सुरुवात गरिएको हो। केही दिनअघि मात्रै सो अभियान अघि बढाउन विष्णु हमालको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन भएको छ।

हाल अष्ट्रेलियामा १ लाख ९० हजारको हाराहारीमा नेपाली बसोबास गर्छन्। जसमा सिड्नीमा मात्रै करिब ९० हजार नेपाली रहेको अभियानको तदर्थ समितिका सचिव शिव बञ्जाराले बताए।

अभियानअन्तर्गत पहिलो चरणमा दर्ता प्रक्रियामा गई समितिलाई वैधानिकता दिन अप्रिल २८ मा आमभेला आयोजना गरिएको छ। भेलाले तदर्थ समितिलाई पूर्णता प्रदान गर्ने, कानूनी प्रक्रिया अघि बढाउने र अभियानको कार्ययोजना पास गर्नेछ।

'यो मेरो मात्रै होइन, सिड्नीका हरेक नेपाली भाषीको सपना हो, यसका लागि हामीले धेरै लामो समय प्रयास, संघर्ष र प्रतीक्षा गरेका छौँ’, तदर्थ समितिका सचिव बञ्जाराले भने, अभियान कुनै जात, धर्म, भाषा, भूगोल र लिङ्गसँग सम्बन्धित छैन, सबैलाई  एउटै मालामा गाँस्दै विश्वभर नेपालीको संस्कृतिलाई चिनाउने र अष्ट्रेलियाका प्रवासी नेपालीहरूलाई जोड्ने सामूहिक प्रयास अनि अभियान हो।’

बञ्जाराका अनुसार अभियान अघि बढाउन 'सर्टटर्म, मिडटर्म र लङटर्म’ गरी कार्ययोजनालाई तीन चरणमा विभाजन गरिएको छ। जसको पहिलो चरणमा २०२५ को डिसेम्बरसम्म भवनका लागि जग्गा खरिद गरिनेछ।

बहुउद्देश्यीय भवनका लागि सिड्नीमा कम्तिमा २५ देखि ३० रोपनी जग्गा खरिद गर्ने योजना समितिले बनाएको छ। जसका लागि ४५ करोड रुपैयाँ लागतको अनुमान गरिएको उनी बताउँछन्।

'हाम्रो योजनाअनुसार भवन बनाउन कम्तिमा २५ देखि ३० रोपनी जग्गा आवश्यक पर्छ, त्यसमा करिब ४५ करोड रुपैयाँ आसपास हुन आउँछ’, उनले भने।

त्यसका लागि छिट्टै सिड्नीमै सप्ताहव्यापी महायज्ञ सञ्चालन गर्ने तयारी समितिको छ। सप्ताहसँगै समितिले विभिन्न संघसंस्था तथा इच्छुक व्यक्तिसँग सहयोग रकम समेत संकलन गर्नेछ। 

त्यस्तै दोस्रो चरणअन्तर्गत सन् २०२६ देखि २०२८ सम्म भवन निर्माणको काम सकिनेछ। जसमा १ अर्ब ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

अभियानले अष्ट्रेलियामा रहेका सबै नेपाली समुदायको आस्थाको सम्मान गर्ने, हरेक समुदायको कला, सँस्कृतिको संरक्षण र जगेर्ना गर्ने साथै सबैलाई एकताको सूत्रमा बाँध्नेमा अभियानकर्ताहरू विश्वस्त छन्।

हाल अष्ट्रेलियामा गैरआवासीय नेपाली संघ अष्ट्रेलियासहित १२० भन्दा बढी नेपाली संघ संस्थाको साथ, सहयोग र सहकार्यमा अभियानलाई अघि बढाउने योजना समितिको छ।

'यो अभियान कुनै एकजनाको वा एउटा संस्था र समुदायको हुँदै होइन, यो त सबैको साझा अभियान र पहल हो’, बञ्जाराले थपे।

त्यस्तै ’लङटर्म प्लान’अन्तर्गत सन् २०२९ देखि २०३७ सम्मलाई भवनमा आवश्यक पूर्वाधार र संरचना खडा गर्ने साथै भवनको दीर्घकालीन सञ्चालनका लागि कार्ययोजना कार्यान्वयन गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.