|

काठमाडौँ : नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका नेताहरू र जोडिनसक्ने दलका नेताहरूको दौडधुप चलिरहेको छ। 

गठबन्धन तोडेर नयाँ सहमति गरेको भोलिपल्ट आज बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका चार दलका शीर्ष नेतासहित पुरानै गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिलगायतका दलहरुसँग छलफल गरिरहेका छन्।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग सत्ता साझेदारीको सहमति भए पनि साना दलसमेत थपिने भएपछि मन्त्रालय भागबन्डालाई प्याकेजमै टुंग्याउने गरी छलफल भइरहेको प्रधानमत्रीको सचिवालयले जनाएको छ। 

नयाँ गठबन्धनको न्यूनतम साझा कार्यक्रम, सरकारको नीति तथा कार्यक्रम, बजेटलगायत शक्ति बाँडफाँडलाई पनि एकमुष्ट टुंग्याउने गरी प्रधानमन्त्री प्रचण्ड आफैँ निरन्तररुपमा औपचारिक अनौपचारिक छलफलमा छन्। 

हिजो मात्रै तीन पार्टीबाट एक/एक जना विना विभागीय मन्त्री बनाएका प्रधानमन्त्री प्रचण्डले गत पुस १० गतेको समीकरणमा रहेका राप्रपाबाहेकका सबै दललाई सरकारमा सहभागी गराउने गरी छलफल अघि बढाएका छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले औपचारिक प्रस्ताव आए नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी सहभागी हुने बताइसकेका छन्। 

एकीकृत समाजवादीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ।     
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.