|

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

शुक्रवार राष्ट्रियसभामा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताए। उनले नागरिकको बाँच्न पाउने अधिकार सुरक्षित गर्छु भन्ने तर त्यसअनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गरे।

सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाव दिए।

भट्टले भने, ‘हामीले कुरा त बडा आदर्शवादी गर्दछौं। जनताकै पक्षमा गर्छौं तर जनताको पक्षमा कति काम गरेका छौँ? गरिब मान्छेले मृत्युवरण गर्नुपर्ने। प्राइभेट हस्पिटलमा गयो, नर्मल ज्वरो आए पनि दुनियाँभर चेक गरेर १० हजारभन्दा कममा डाक्टरले हातै लगाउँदैन। सरकारीमा गयो, बेड खाली हुँदैन। उपचारको नाममा व्यापार भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो। जनताको बाँच्न पाउने अधिकार मौलिक हक भित्र रहेको हुनाले त्यसको संरक्षण गर्नु सबै तपाईं हाम्रो दायित्व हो।’

सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिन स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.