|

काठमाडौँ: नेकपा माओवादी केन्द्रको बिस्तारित बैठकमा बोल्ने अधिकांश वक्ताहरूले जम्बो केन्द्रीय समिति बिघटन गनुपर्ने धारणा राखेका छन्।

मंगलबारदेखि पार्टी कार्यालय पेरिसडाँडामा जारी सचिवालयको बिस्तारित बैठकको दोस्री दिन रिपोर्टिङ गर्ने अधिकांशले केन्द्रीय समिति घटाउनुपर्ने भन्दै पार्टीको चिन्ता गरे। 

मंगलबार बैठकको सुरुमा बोल्दै अध्यक्ष प्रचण्डले मैखिक प्रतिवेदन पेस गरेका थिए। बुधबार बोल्ने अधिकांश वक्ताले अध्यक्षले राखेको प्रस्तावमा समर्थन गर्दै नयाँ पार्टी निर्माणका लागि चार हजार संख्याको केन्द्रीय समिति विघटन गरी चुस्त दुरुस्त केन्द्रीय समिति गठन गर्न अध्यक्षलाई सुझाव दिएका छन्।

विचारविनाको भारी भरकम केन्द्रीय समितिको अर्थ नभएको भन्दै बैठकमा बोल्ने धेरैले स्थानीय तहमा पार्टी संगठन नहुँदा चुनावमा अपेक्षित मत नआएको गुनासो गरे। 

बैठकमा कसले के भने
धावा लामा, इन्चार्ज, रामेछाप

पार्टीका ऐजेण्डाले जितेको छ तर पार्टी हारेको छ। रामेछापमा पहिलो पार्टीबाट दोस्रो पार्टीमा झरेका छौँ। स्थानीय तह जित्न नसके पनि जिल्लाभर २२ वडा जितेका छौँ। रामेछापमा हामीलाई जनताले पहलविहीन नेता ठान्न थालेका छन्। कार्यकर्ताको व्यवस्थापन गर्न नसक्दा पनि हारिएको हो। पार्टीका सबै नेताहरूको कार्यक्षेत्र ठोस गरौँ। जिल्लामा पनि कसले कहाँ हेर्ने भनेर कार्यक्षेत्र तोकिनुपर्छ।

पुष्पबिक्रम मल्ल, इन्चार्ज, धादिङ

नेताको पार्टी हो कि शासक प्रशासकको पार्टी हो? अध्यक्षले एउटा टिम बनाउनुपर्‍यो। त्यही टिममार्फत् सबैले काम गरौँ। नमुना समाजवादी सत्ताको अभ्यास हुनेगरी काम गरौँ।

त्रिलोचन भट्ट, इन्चार्ज, डोटी 

पार्टीले समय सुहाउँदो चुनावी रणनीति बनाउन सकेन। अध्यक्षले पार्टीलाई समय नदिएर पनि यस्तो भएको हो। पर्टी बिघटन गर्ने होइन, यी ठूला समितिहरू बिघटन गर्नुपर्छ।

सहदेव वोगटी, इन्चार्ज, बाजुरा

हामीलाई चुनाव हारेकोमा कुनै दुःख लागेको छैन। किनकि हामी चुनाव जित्नलायक नै थिएनौँ। अहिले हामी माओवादी राजनीतिको ऐलानी कित्तामा उभिएका छौँ।

नरबहादुर बिष्ट, इन्चार्ज, सुर्खेत 

हामीले जुन वर्गलाई विश्वास गर्‍यौँ, त्यही वर्गले नै हामीलाई धोका दियो। हामीले पनि त त्यो वर्गलाई धोका नै दिएका छौँ। सुर्खेतमा कुनै गुट छैन। हामीले पार्टीमा गम्भीर समीक्षा गरेका छौँ। हारको मानसिकता हामीमा हावी भएको छ। 

दीपेन्द्र पुन सिजल, रोल्पा 

नराम्रो पार्टीमध्येको सबैभन्दा नराम्रो पार्टी माओवादी भएको छ। आफ्नै कारणले रोल्पामा १४ वटा वडा गुमाउन पुगियो। पार्टीमा भएको टुटफुटले पनि यसमा काम गरेको हो। 

बलराम तिमिल्सिना विप्लव, साँस्कृतिक मोर्चा 

जनयुद्धबाट आएका कार्यकर्ताको बारेमा केही सोच्न नसक्दा पार्टी कार्यकर्ता र जनतामा नराम्रो सन्देश गएको छ। चालु अवस्थाको पार्टी बिघटन गरौँ। नयाँ पार्टी बनाऔँ।

जीवन बुढा

हात्ती जत्रो संगठन भएर पनि कमिलाले जति काम गर्न सकिएन। 

गोपाल किराती

चुनाव हारिएकोमा गम्भीर आत्मालोचना गर्न चाहन्छु। पार्टीको आकार बिघटन गर्नुपर्छ। जिल्लालाई समन्वय समितिको रूपमा मात्र लिनुपर्छ। ७४४ वटै स्थानीय तहमा छाया सरकार गठन गरौँ, जसले स्थानीय सरकारलाई खबरदारी गर्न सक्छ। एमालेको भण्डाफोर अभियान तीव्र पार्नुपर्छ।

यीबाहेक नेताहरू जनार्दन शर्मा, उर्मिला अर्याल, टेकहादुर बस्नेत, रामराज रेग्मी, जीवन बुढा, रामदीप आचार्य, पूर्ण सुवेदी, रमेश मल्ल, कमला रोका, डिलाराम आचार्य, देवी खड्का, दधिराम न्यौपाने, प्रह्लाद बुढाथोकीलगायत ३१ जनाले बैठकमा बोलेका थिए। उनीहरूले पार्टीभित्रका बिचौलियासँग संघर्ष गर्नुपर्ने बताएका थिए। बैठक भाेलि बुधबारसम्म चल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.