|

नेपाली कम्युनिष्ट आन्दोलन पथ-विचलनमा जानुका पछाडि वैचारिक विषय नै मुख्य हो। यो कहाँनिर प्रकट हुन्छ भने मार्क्सवादले परिवर्तनको कुरा गर्छ, निर्माण भएको कुनै चिजलाई लगातार परिवर्तन गरेर मात्रै जोगाउन सकिन्छ भन्छ।  

रुपान्तरण गर्ने मात्रै होइन, त्यसलाई रक्षा गर्नु प्रमुख कुरा हो। कुनै चिजको निर्माण र लगातारको परिमार्जनले त्यसको रक्षा गर्छ भनेको छ। मैले के कुरा भन्न खोजेको हो भने नेपाली समाजवादमा जबसम्म कम्युनिष्ट आन्दोलनले मार्क्सवादको आधारभूत विषयलाई दह्रो गरी पक्रिने गरेको छ, तबसम्म पथ-विचलनमा गएको छैन। 

पहिलो : वर्गसंघर्ष र द्वन्द्वान्त्मक भौतिकवाद यसका आधारभूत प्रस्थापनाहरू हुन्। यी आधारभूत प्रस्थापनाहरूलाई जहिलेसम्म ती पार्टीहरूले नछाड्ने प्रयत्न गरेका छन् त्यो बेलासम्म उपलब्धि कहिले कम, कहिले बेसी भयो होला, त्यो बेग्लै कुरा तर तिनीहरू पथ-विचलनमा गएनन्। जबदेखि यी आधारभूत प्रस्थापनाहरूलाई जुनजुन पार्टीले जुनजुन विन्दुबाट छाड्ने क्रम सुरु गरे, त्यहाँदेखि पथ-विचलन सुरु भएको हो। 

मार्क्सवाद आफैँ लागू हुने कुरा होइन। परिस्थितिअनुसार कतिपय विषयमा परिमार्जन, कतिपयमा विकाससहित लागू गर्ने कुरा हो। परिमार्जसहित लागू गर्ने कुरामा नेपाली कम्युनिष्ट अन्दोलनको कम ध्यान, मार्क्सवादका आधारभूत प्रस्थापनाहरूलाई छाड्ने कुरामा बढी ध्यान गयो। 

दोस्रो : नेपाली समाजको बारेमा नेपाली कम्युनिष्ट आन्दोलनले कहिल्यै पनि गुणात्मकस्तरमा समाज विश्लेषण गर्न सकेन। आन्दोलनले समाजको आधारभूत रुपमा नै  यहाँको वर्ग विश्लेषण र समाजिक अन्तरविरोधका विश्लेषण गर्न सकेन। पथ-विचलन यहाँबाट पनि सुरु हुन्छ। नेपाली समाजको अध्ययन निक्कै कमजोर भयो नेपाली कम्युनिष्ट आन्दोलनमा। समग्रमा नेपाली समाजको आधारभूत अन्तविरोधलाई जडसुत्रवादी ढंगले अध्ययन गर्न प्रयत्न गरियो।

तेस्रो : नेपाली कम्युनिष्ट आन्दोलनसँग समाजवादको सपना त भयो तर त्यो पुरानै समाजवादको भयो। जुन असफल भइसकेको समाजवाद हो। रुसबाट सुरु भएर त्यसले संसार हल्लाइदियो। फेरि त्यो पुरानो क्रान्ति मर्न थालेको पनि रुसबाटै हो। भन्न चाहिँ स्टालिनको मृत्युपछि भनिन्छ, म चाहिँ स्टालिनको गर्वभित्रै त्यो मृत्यु कतै न कतै थियो भन्छु। रुसबाट मर्न सुरु गरेको पुरानो समाजवाद अहिले नेपालसम्म मर्न आएको छ। नेपाली कम्युनिष्ट आन्दोलको सपना के भयो भने त्यही समाजवाद देखाउने, यसले चाहिँ नयाँ पुस्ता आकर्षित हुन सकेनन्। 

पुरानो खालको समाजवादका समस्या के हुन्? यसलाई कसरी लाने नयाँ युगमा? भन्ने बारेमा नेपाली कम्युनिष्ट आन्दोलन निक्कै पछि रह्यो। केही बौद्धिकहरूले अलिअलि लेख–रचनामा प्रयत्न गरे। 

यसबारे कम्युनिष्टहरूले त के उत्तर दिए भने–पुँजीवादले कब्जा गर्‍यो। यति हो तर यो उत्तर पर्याप्त थिएन। भन्न खोजेको के भने हारेको समाजवाद नै नेपाली कम्युनिष्ट आन्दोलनको सपना भयो। हारेको समाजवाद नै सपना भइसकेपछि जित्छ कसरी? 

चौथो : नेपाली कम्युनिष्ट आलोलनसँग सर्वहाराकरणसम्बन्धी सिद्धान्त र नीति थियो। अझ कतिपयसँग त छँदै थिएन। पहिलेका माले भन्ने पार्टी र मोहनविक्रम जीहरूसँग विचारमा सर्वहाराकरण गर्ने हो, अरु कुरा हुँदै जाने कुरा हो भन्ने थियो। पछि प्रचण्ड जीहरू आइसकेपछि अर्को कुरा थप्नुभयो–भौतिक रुपमा पनि सर्वहाराकरण हुनपर्छ। त्यो विलकुल ठिक थियो तर त्यो भइसकेपछि क्रान्तिकारीको जीवन कस्तो हुन्छ ? यसको उत्तर थिएन। 

भौतिक रुपमा सर्वहाराकरणमा गइसकेपछि चाहिँ उसको जीवन कस्तो हुन्छ ? उसको अर्थप्रणाली कस्तो हुन्छ ? कहाँबाट ल्यएर खान्छ ? कसरी खर्च गर्छ ? उसको समाज कस्तो बन्छ ? यी केही पनि थिएन। 

अब हामी कम्युनिष्ट आन्दोलनमा ४०/५० वर्षदेखि लागेका मान्छेहरूको नीजि जीवनमा प्रवेश गरेर हेरौँ त। हराभरा छ। निजी जीवनमा प्रवेश गरेर हेर्‍यौँ भने मध्यमवर्गीय वुद्धिजीवि जीवित छ कम्युनिष्ट भनेर। जसले एनजीओ, आइएनजीओ चलाएर, राजदूत भएर, जागिर खाएर वा अरू केही गरेर जीवन चलाइरहेको छ, कि त भने नेतृत्व तहमा पुगेका मान्छेहरू छन्, उनीहरूका आर्थिक जीवन पूरै अपारदर्शी छ। किन बन्न पुग्यो यस्तो अवस्था ? 

ती मान्छे खराब हुन् भनौँ भने ती मान्छेहरू मर्न हिँडेका हुन्, बलिदान गर्न हिँडेकाहरू हुन् तर तिनीहरूको आर्थिक जीवन किन त्यस्तो भयो त भन्दा सर्वहारा वर्गको नीति थियो, त्यसपछि चाहिँ समाजवादी जीवनका ढाँचा के त भन्ने कम्युनिष्ट आन्दोलनसँग थिएन। 

त्यसो भइसकेपछि पुर्ख्यौली सम्पत्ति भएकाहरू त उपरखुटी लगाएर मर्क्सवादको कुरा गर्ने नै भइहाले, जो साँच्चै सर्वहारा वर्गको दिशामा कम्युनिष्ट बन्यो, उसको हालत चौपट भयो। हालत चौपट बनाउन नचाहने मान्छेले के गर्‍यो भने अपादर्शी ढंगले आर्थिक उपार्जन गर्छ थाल्यो । 

अब तपाईँ/हामी सोचैँ–एउटा सर्वहारा वर्गको कुरा गरिराख्या मान्छे अपारदर्शी ढंगले पैसा जम्मा गर्न थाल्यो भने त्यसको वर्ग कहाँ पुग्छ। उसको वर्ग त भित्रभित्रै उछिटिएर अर्कोमा पुगिसेकेका हुन्छ। त्यसपछि सर्वहारा वर्गको न्याय गरिदिन्छ त? 

त्यसकारण पथ-लिचलनमा जानका निम्ति वर्गीयरुपले नै वातावरण तयार भयो। एउटा मान्छेलाई पाँच वर्ष आइएनजीओमा काम लगाइदिनुभयो भने त्यो मान्छे कम्युनिष्ट पार्टीका  बारेमा कुरा गरिराख्ने त हुन सक्ला तर ऊ कहिल्यै वर्ग संघर्षमा आउन सक्दैन। 

पाँचौँ : नेपालको कम्युनिष्ट आन्दोलनसँग सांस्कृतिक रुपान्तरणको नीति सधैँ छ तर सांस्कृतिक रुपान्तरण लागू गर्ने आवधिक योजना कहिल्यै पनि छैन। 

यो कुरा सही हो कि समाजवादी अर्थतन्त्र पुरै नबनेसम्म  समाजवादी संस्कृति पनि पुरै बन्न सक्दैन। यो हामीले बुझेको कुरा हो तर अहिलेदेखि चाहिँ कति गर्न सकिने हो त भन्ने बारेमा आवधिक योजना कम्युनिष्ट आलन्दोलनमा छैन। 

जस्तो ०३०/३१ सालदेखि एउटा व्यक्ति कम्युनिष्ट  पार्टीको महासचिव छ। ९० वर्षपछि पनि अर्को पाँच वर्ष चुनिएकै छन् तर उसको गाउँमा महिलाहरूले अहिले पनि रजस्वला बार्न छाडेका छैनन्। भनेपछि करिब ५० वर्ष कम्युनिष्ट पार्टीको महासचिव हुँदा गाउँठाउँमा रजस्वला बार्ने कूप्रचलन पनि करेक्सन गर्ने सांस्कृतिक आवधिक योजना कम्युनिष्ट आन्दोलनसँग खै? यो पहिला थिएन र अहिले पनि छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.