|

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाका कृषकहरूले गरिरहेको पशुपालनलाई थप व्यावसायिक गराउन साढे ३१ लाख रुपैयाँको लागतमा ‘किसानसँग महाशिला’ कृषि कार्यक्रम सुरु हुने भएको छ।

महाशिला गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारीमा इन्प्रेड नेपालद्वारा सञ्चालित ‘किसानसँग महाशिला’ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०-०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यो लगानी हुन लागेको हो।

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार बाख्राको खोर सुधार, भकारो सुधार, घाँसको स्रोत केन्द्र स्थापना कार्यक्रम र घाँसको बिउ-विरुवा वितरण गरेर चारवटा कार्यक्रमहरू यो कार्यक्रममा समावेश गरिएका छन्।

बाख्राको खोर सुधार कार्यक्रमका लागि सबैभन्दा बढी २५ लाख रुपैयाँ लगानी गर्न लागिएको छ। यो रकमबाट एक सय वटा बाख्राका खोर सुधार गरिने छ तर यो कार्यक्रममा समावेश हुनका गाउँपालिकाका सबै वडाबाट  कम्तीमा पनि पाँचवटा माउ बाख्रा पालेको हुनुपर्ने सर्त राखिएको छ। तीन लाख ५० हजार रुपैयाँ कुल लगानी हुने भकारो सुधार कार्यक्रम पनि गाउँपालिकाको सबै वडामा सञ्चालन गरिने छ। ५० ओटा भकारो सुधार गर्ने लक्ष्य रहेको यो कार्यक्रममा सहभागी हुन कम्तीमा तीनवटा गाई, गोरु र भैँसीसमेत पालेको हुनुपर्ने भनिएको छ।

यस्तै, घाँसको स्रोत केन्द्र स्थापना कार्यक्रमअन्तर्गत एउटा मात्रै कार्यक्रम लागू गर्न लागिएको र यो कार्यक्रम वडाभरिका कुनै एक जना कृषकको लागि मात्रै रहेको अध्यक्ष भुसालको भनाइ छ। एक लाख ५० हजार रुपैयाँ अनुदानका रूपमा दिइने यो कार्यक्रम पाउनको लागि कम्तीमा पनि १५ रोपनी जग्गा भएको हुनुपर्ने भनिएको छ। यी तीन वटा कार्यक्रममा छनोट कृषकहरूले शत प्रतिशत अनुदान भने पाउने छैनन्। कृषकले पनि केही रकम लगानी गर्नुपर्ने यी कार्यक्रमहरूको उद्देश्य छ।

तर एक लाख ५० हजार रुपैयाँ लगानी गर्न लागिएको घाँसको बिउ-विरुवा वितरण कार्यक्रम भने शत प्रतिशत अनुदानमा सञ्चालन हुँदै छ। गाउँपालिकाभरका कुल २८ जना कृषकलाई यो कार्यक्रममा समावेश गर्ने लक्ष्य राखिएको छ।

यी कार्यक्रमहरूमा समावेश भई अनुदान लिएर व्यावसायिक रूपमा पशुपालन तथा कृषि कर्ममा लाग्न इच्छुक कृषकहरूले सम्बन्धित वडा कार्यालय वा महाशिला गाउँपालिकाको पशु सेवा शाखामा आवश्यक कागजातसहित १५ दिनभित्रमा निवेदन पेस गर्न भनिएको छ। कृषक, कृषक समूह, सहकारी, निजी फर्म लगायतले दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर लगायतका प्रमाणहरूसहित निवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ।

यदि कोही कृषकले जग्गा भाडामा लिएर कार्यक्रम सञ्चालन गर्ने भएमा कम्तीमा पनि पाँच वर्षको करार सम्झौता गरेको हुनुपर्ने गाउँपालिकाका अध्यक्ष भुसालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.