|

काठमाडौं : सोमबारदेखि जारी नेकपा माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा केही नेताहरुले पार्टीमा 'प्रचण्डपथ' फेरि ब्युँताउनुपर्ने धारणा राखेका छन्। जनयुद्धका बेला माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा अबलम्बन गरेको 'प्रचण्डपथ' २०६५ पुस ३० गते नेकपा एकताकेन्द्रसँग पार्टी एकता भएपछि स्थगित गरिएको थियो।

तर जारी सचिवालय बैठकमा केही नेताहरुले यसलाई पुन ब्युँताउनुपर्ने धारणा राखे। यस्तो धारणा राख्नेहरुमा अध्यक्ष प्रचण्ड निकटका नेताहरु अग्नि सापकोटा, हरिबोल गजुरेल लगायत छन्। बुधवारको बैठकमा नेता सापकोटाले प्रचण्डपथ ब्युँताउनुपर्ने धारणा राखे। उनको विचारमा सहमति जनाउँदै अर्का नेता हरिवोल गजुरेलले बिहीबारको बैठकमा लिखित मन्तव्य राख्दै 'प्रचण्डपथ'लाई पार्टीको मूल बैचारिक सिद्धान्त बनाउनुपर्ने बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राखे। 'तत्कालिन समयमा 'प्रचण्डपथ' विचारको जुन संश्लेषण थियो, त्यो ठीक थियो' उनले भनेका थिए। त्यसलाई निरन्तरता दिन नसक्दा पार्टी अहिलेको अवस्थामा आएको गजुरेलको तर्क थियो।

के हो प्रचण्डपथ?

२०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको तत्कालिन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पहिलो पटक 'प्रचण्डपथ'बारे उल्लेख गरेका छन्। 

'महान अग्रगामी छलाङ : इतिहासको अपरिहार्य आवश्यकता' शीर्षकको प्रतिवेदनमा प्रचण्डले 'एक महान उपललब्धी' उपशीर्षकमा 'प्रचण्डपथ'को आवश्यकता औंल्याएका थिए। उनले आफ्नो सफल नेतृत्वका कारण पार्टीको विचार श्रृङ्खला मात्र नभई केन्द्रीय स्तरमा सुयोग्य नेताहरुको टिमका साथै क्रान्तिकारी उत्तराधिकारीका रुपमा हजारौं कार्यकर्ताको विकास भएको उल्लेख गरेका छन्। प्रचण्डको नेतृत्वकै कारण पार्टी एकताको केन्द्रविन्दुको रुपमा बलियो हेडक्वार्टर विकास भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ :

'पार्टी एक दशकदेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क. प्रचण्डको सही र अविछिन्न नेतत्वका कारण आज पार्टी एकताको केन्द्रविन्दुको रुपमा क. प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ। अतः सामुहिक नेतृत्वको केन्द्रिकृत अभिब्यक्तिका रुपमा बिकसित बिचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ (Prachanda Path) नामाकरण गर्दछ।’

प्रचण्डपथका रुपमा पार्टीको अनुभवहरुको संश्लेषणले नेपालमा मार्क्सवाद लेनिनवाद र माओवादका सार्वभौम सिद्धान्तहरुको प्रयोगको विशिष्टतालाई अभिव्यक्त गर्ने प्रतिवेदनमा दावी गरिएको छ।

कहिलेसम्म रह्यो ‘प्रचण्डपथ’?

२०५७ माघ–फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘मार्क्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ’ पारित भएपछि आठ वर्षसम्म माओवादीले यसैअनुरुप आफ्ना वैचारिक–राजनैतिक, सांगठनिक र फौजी कारबाही सञ्चालन गरेको हाल नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष रहेका नेता मोहन वैद्य बताउँछन्। थाहाखबरसँग उनले भने भने ‘त्यतिबेला जनयुद्ध राम्रै तरिकाले गइरहेको हुनाले प्रचण्डपथ भनिनु पनि ठीकै थियो। तर शान्तिप्रक्रियामा आएपछि प्रचण्डपथ भन्नु हुँदैनथ्यो, त्यो गलत गरिएछ भन्ने बिश्लेषण हामीले गर्‍यौं।'

यद्यपी २०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि पनि प्रचण्डपथ कायमै रह्यो। २०६४ चैतमा पहिलो संविधानसभा चुनावमा सहभागी हुँदासम्म माओवादीले प्रचण्डपथ अबलम्बन गरिरहेको थियो। २०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा आयोजना गरेको बहुचर्चित राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनमा पनि प्रचण्डपथबारे लेखिएको छ।

प्रचण्डले त्यतिबेला भनेका थिए :

'सामन्तवाद र साम्राज्यवादका बिरुद्ध जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न २१ औं शताव्दीको बर्तमान परिस्थितlमा दीर्घकालिन जनयुद्धको रणनीतिमा आम सशस्त्र जनविद्रोहका कार्यनीतिहरुको समेत समायोजन गर्नुपर्छ भन्ने मूलभूत संश्लेषणका साथै नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यनैतिक श्रृङ्खलाका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधानसभा प्रस्तुत गर्नु नै प्रचण्डपथ संश्लेषणका प्रमुख आधार हुन्।'

तर प्रचण्डको राजनीति प्रतिवेदनमा असहमति राख्दै नेता मोहन वैद्य किरणले फरक मत सहित अलग्गै राजनैतिक प्रतिवेदन पेश गरेका थिए। भेलामा प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा पुनर्विचार गर्नुपर्ने बहस उठेको थियो।

त्यसको एक महिनापछि २०६५ पुस ३० गते आयोजित नेकपा माओवादी र नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको नेकपा एकताकेन्द्रसँगको  पार्टी एकता अधिवेशनमा अध्यक्ष प्रचण्डले नै लिखित रुपमा तत्कालका लागि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक विचारबाट स्थगित गरी मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेर जाने प्रस्ताव गरेको नेता अग्निप्रसाद सापकोटाले बताए।

‘प्रचण्डपथ सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्ति हो र अन्तर्राष्ट्रिय सर्वहारावर्गको समेत यसमा योगदान रहेको हुनाले यो केवल प्रचण्डको नामसँग जोडिएको कुरामात्र होइन’ प्रचण्डपथबारे नेता सापकोटाले थाहाखबरसँग भने। प्रचण्डपथ छोडेपछि पार्टीको अगाडि जाने वैचारिक पथ प्रदर्शक सिद्धान्त नै हराएजस्तो भएको भन्दै उनले पार्टीमा गुटबन्दी मौलाउनु, अराजकता हावी हुनु जस्ता समस्या यसैको उपज भएको दावी गरे। 

अर्का नेता देव गुरुङले सचिवालय बैठकमा प्रचण्डपथको विषय नेतृत्व केन्द्रीकरण गर्नुपर्छ भन्ने सन्दर्भमा उठेको बताए। पार्टीभित्र अराजकता र गुटबन्दी बढिरहेको समयमा लिडरसीपको सर्वस्वीकार्यता बढाउन सकिन्छ कि भन्ने कोणबाट मात्र यो कुरा बैठकमा उठेको भन्दै उनले छलफल चलिरहेकाले आफूले केही बोलिहाल्दा हतार हुने बताए।

पार्टी प्रवक्ता पंफा भुसालले प्रचण्डपथको विषय केही सहभागीले व्यक्तिगत रुपमा उठाएको बताइन्। ‘यो उहाँहरुको व्यक्तिगत विचार हो। पार्टीले यसबारेमा केही धारणा बनाइहालेको छैन। यसो गरेर पो पार्टीलाई ठीक ठाँउमा ल्याउन सकिन्छ कि भन्ने हिसाबले यो कुरो आएको होला’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.