व्यापारका नाममा फैलँदो कारोबारले दुर्व्यसनी बढ्दै

|

विराटनगर : ‘बहिनी पहिले खुब राम्री हुन्। सायद उसको बाध्यताले होला यहाँसम्म आइपुग्न परेको’ सरिता (नाम परिवर्तन) की आफन्तले सुनाए। परिवारदेखि करिब ५ वर्षदेखि टाढिएकी सरिता घरदेखि हिँड्दा सकुशल नै रहेको उनको दिदी पर्नेले सुनाइन्।

काइयो नपरेको कपाल (जिग्रिङ), वर्षौंदेखि ननुहाएको शरीर, पुरानो कपडामा भेटिएकी सरिताको अवस्था हेर्दै नाजुक थियो।

एउटा हात काम नलाग्ने अवस्थामा कोशी अस्पतालको शैय्यामा भेटिएकी उनी आफन्तको अनुसार लागुऔषध सेवनकै कारण घर छोडेकी रहेछिन्। परिवारको विषयमा खासै खुलेर बोल्न नचाहने उनी सोधिएको प्रश्नसँगै हराउँथिन्।

संखुवासभा हुँदै धरान झरेकी उनी फेरि फर्किएर आफू जन्मिएको गाउँ जान चाहिनन्। चुरोट हुँदै गाँजा सेवन गर्न सुरु गरेकी २० वर्षीया सरिताले साथीहरूसँगै लागुऔषध सेवन गर्न सुरु गरिन्। धरानदेखि विराटनगर हुँदै भारतको जोगबनी धाउँदाधाउँदै धरान फर्किन नै भुलिन्।

लागुऔषधको नशामै जीवन समर्पित गरेकी उनले त्यही लागुऔषधकै कारण आफ्नो एउटा हातसमेत गुमाइन्। प्रहरीको अनुसार इन्जेक्सन (लागुऔषध) लगाउँदा लगाउँदै हातमा इन्फेक्सन भएर घाउ भएको रहेछ। त्यही इन्फेक्सनले गर्दा हातको हड्डी र मासु आफैँ झरेर हात काम लाग्न नसक्ने अवस्थामा पुगेको थियो। परिवारको माया, प्रेम र बलियो साथ नपाएर पनि घर छोडेको हुनसक्ने उनको नजिकको आफन्तले बताए।

यस्तै, धनकुटाका रमेश (नाम परिवर्तन) सुनसरीको इटहरीमा भेटिए। उनी भर्खरै सुधार गृहबाट बिदा भएर घर फर्किन लागेका रहेछन्। लागुऔषधकै कारण केही समय न्यायिक हिरासतबाट सजाय भुक्तान गरेको उनले यसै कारण उनको घर गृहस्थसमेत बिग्रियो।

जीवनको ऊर्जाशील उमेर लागुऔषधको नशामा नै बिताएका उनी आफू असल बुवा र श्रीमान् हुन नसकेको दु:खेसो पोख्छन्। नसामा डुब्दा परिवार सन्तानको वास्ता नै नगरेको कारण पनि श्रीमती र सन्तान उनीबाट टाढा भएको ४ वर्ष भएछ।

१६ वर्षको उमेरदेखि लागुऔषधको लतमा फसेका उनी ३२ वर्षको उमेरसम्ममा आइपुग्दा परिवार नै गुमाउन परेको दु:खेसो सनाए।

‘मैले त जीवन बुझेकै रहेनछु। १६ वर्षको उमेरदेखि साथीभाइसँग लागुऔषधको नसामा डुब्दै ठिक भयो,’ उनले भने,‘मैले सबैथोक गुमाए, परिवार, भरोसा र जीवन र जवानी तर, पनि हरेस खाएको छैन।’ अध्ययनको शिलशिलामा धरान झरेका उनी पढ्दापढ्दै लागुऔषध सेवन गर्न बानी परेका रहेछन्। घरको एक्लो छोरा पढ्न गएको छोरालाई पैसा पठाए पनि परिवारले केमा खर्च गर्दैछ भनेर नसोध्दा पनि आफू धेरै स्वतन्त्र भएको उनी सुनाउँछन्।

उनी भन्छन्,‘मेरो पनि एक सन्तान छ, त्यो सन्तानको हुर्काइ पनि कसरी श्रीमतीले गरिन थाहा भएन, तर सन्तान के गर्दै छ भनेर सोध्नु चाहिँ पर्ने रहेछ।’

विराटनगरका २७ वर्षीय भरतको (नाम परिवर्तन) विद्यार्थी जीवनमा पढाइ राम्रो थियो। पारिवारिक अवस्था पनि राम्रै थियो। दु:ख के हो उनले जीवनमा भोग्नुपर्ने अवस्था थिएन। तर, समयसँगै उनको दैनिकी फेरिँदै गयो। विस्तारै कलेज छोडेर दैनिक जस्तो उनको गन्तव्य भारतको जोगबनी बन्न थाल्यो।

त्यहीँका साथीभाइ, इन्जेक्सन र टयाब्लेट उनको जीवनको सबैभन्दा निकट बन्न थाल्यो। उनले आफ्नो भविष्यको लक्ष्य, परिवारले देखेको सपना हरू जोगबनी धाँउदा र लागुऔषधको नसामा गुमनाम भएको सुनाए। शरिर सुकेर तेन्द्रा भएको छ। बेहोसमा नै विराटनगरका सडक भौतारिने उनीसँग कहिलेकाँही त आफ्नो घर जाने बाटो भुलेर सडकमा निद्रा पुर्याएको थुप्रै रात हरू पनि छन्। भविष्यको चिन्ता भन्दा पनि इन्जेक्सन लगाउने पैसा कहाँबाट जोहो गर्ने भन्ने चिन्ताले उनलाई पिरोल्छ। अब त उसलाई परिवारले पनि भारी छुट दिइसकेको छ।

 ‘ परिवार सबै पैसा कमाउनमा व्यस्त भए, म यता, अब त खोज्दैनन् परिवारले।’ उनी सुनाउछन्,‘ विन्दास छ जिन्दगी, भविष्य त सकियो अब भोली कसरी पैसा निकाल्ने भन्ने मात्रै चिन्ता हुन्छ।’

 नोट : उल्लेखित पात्रहरूसँग नाम उल्लेख नगर्ने सर्तमा कुराकानी गरिएको हो।

लागुऔषध ओसारपसारमा महिलाको पनि सहभागिता

पछिल्लो समय लागुऔषध प्रयोगमा पुरुष मात्रै नभएर महिलाहरूको पनि संलग्नता बढ्दै गएको छ। यस्ता कार्यमा प्रयोग भएका महिलाहरूले भारतबाट विभिन्न लागुऔषध नेपालमा ल्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यस क्षेत्रमा ब्राउन सुगर, चरेस, अफिम जस्तो लागुऔषध प्रयोग भइरहेको पाइएको छ।  यसको प्रयोगकर्ताका रूपमा विद्यार्थी, महिला, किशोरीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरू रहने गरेको प्रहरीले जनाएको छ।

जसले गर्दा ठूला–ठूला घटना मात्रै घटेको छैन। लागुऔषधकै कारण सामान्य मान्छेको जीवन नै तहसनहस भएका घटनाहरू पनि थुप्रै छन्। ०७७ मा लागुऔषध खैरो हिरोइन ब्राउनसुगर सहित झापाकी ३० वर्षीय रूपा चौधरी भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। उनले घरैबाट लागुऔषध किनबेच गर्ने गरेको विशेष सुराकीको आधारमा दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

यस्तै , ४६ वर्षीया सुनितार लिम्बू (नाम परिवर्तन) श्रीमानको उपचारका लागि तेह्रथुमबाट धरान झरिन्। उपचारको क्रममा थुप्रै ऋण परेपछि धरानै बसेर लागुऔषध ओसारपसार गर्न सुरु गरिन्। भारतको जोगबनी हुँदै धरानसम्म पुर्‍याएबापत उनलाई केही पैसासमेत दिने गरेको रहेछ। घर गृहस्थ चलाउन र ऋण तिर्नका लागि उनले परिवारको मर्जीबिना नै लगत बाटो रोजिन्।

दुई सन्तानकी आमा उनी अहिले न्यायिक हिरासतमा सजाय भुक्तान गरिरहेकी छिन्। श्रीमान र छोराछोरी गाउँ नै फर्किएका छन्। उनको आफन्तको अनुसार लागुऔषध ओसारपसारको आरोपमा प्रहरीले पक्राउ गरेपछि घर परिवार नै उनी बाट टाढा भएको छ।

व्यापारका लागि फैलिँदै लागुऔषध

व्यापार व्यवसायको उदेश्यका लागि लागुऔषध ओसारपसार हुने गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। आर्थिक लाभका कारण पनि लागुऔषध ओासपसार र दुर्व्यसन फैलिदै गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रदेश प्रहरी कार्यालयको पाँच वर्षको तथ्यांकअनुसार सबैभन्दा धेरै लागुऔषध प्रयोग र ओसारपसार अर्थसँग जोडिएको छ।

यस्तो छ लागुऔषध ओसारपसारको उद्देश्य

​६० वर्ष माथिका पनि दुर्व्यसनमा

 ६० वर्ष माथिका पनि लागुऔषधमा फसेका छन्। तर, तुलनात्मक हिसाबले यो उमेर समूहका कम छन्। प्रहरीको तथ्यांक अनुसार ६० वर्षभन्दा माथिका १० जना रहेका छन्। भने सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ता १६ वर्षदेखि २५ वर्षसम्मको रहेको छ।

कुन उमेरको कति ?

लागुऔषधको हब बन्दै मोरङ

पछिल्लो समय मोरङ लागुऔषधको हब बन्दै गएको छ। भारतसँग जोडिएको खुल्ला सिमानाले पनि मोरङ, सुनसरी लागुऔषध ओसारपसार र प्रयोग गर्नेमा धेरै देखिएको हुन सक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन्।

त्यसो त भारतको जोगबनी सजिलो बाटो भएकाले पनि लागुऔषध न्यूनीकरण र नियन्त्रणमा प्रहरीलाई चुनौतीको विषय बन्दै गएको छ। प्रदेश प्रहरीको पछिल्लो ५ वर्षको तथ्याङ्ममा मोरङ, सुनसरी र झापामा लागुऔषध प्रयोगकर्ताको संख्या धेरै देखिएको छ।

कुन जिल्लामा कति ?

दुर्व्यसनविरुद्ध आमा

पछिल्लो समय लागुऔषध न्यूनीकरण र नियन्त्रणका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुर्व्यसनविरुद्ध आमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्थानीय पालिकाहरू सँगको सहकार्यमा आमाहरूलाई चेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

परिवारको सदस्यमा सन्तान आमासँग धेरै नजिक हुने भएकाले र आमाले सन्तानको हाउभाउ, आनिबानी बुझ्ने भएकाले पनि दुर्व्यसन विरुद्ध आमा अभियान सञ्चालनमा ल्याएको प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ बताउँछन्।

यो अभियानले आमाहरूमा सचेतना फैलाउने विश्वास रहेको उनको भनाइ छ। बेलबारी नगरपालिकाबाट शुभारम्भ भएको यो अभियान १४ वटै जिल्लामा सञ्चालन भइरहेको छ। यो अभियान लागुऔषध रोकथाम साथै न्यूनीकरणको एउटा माध्यम रहेको उनको भनाइ थियो।

खुला सिमानाले चुनौती

खुल्ला सिमाना भएकाले पनि चुनौती भएको बताउँदै यसले सजिलो गरी सप्लाई हुने गरेको उनको भनाइ छ। प्रहरीले पक्राउ गर्छ भन्ने डरले सप्लाईमा केही नियन्त्रणको कुरा हुने, डिमाण्ड हटाउने , जनचेतनामूलक काम प्रहरीले गरिरहेको उनले बताए।  परिस्थिति अनुसार कोही ‘क्युरिसिटि’को कारणले पनि आदत बनाउने गरेको पाइएको उनको भनाइ छ।

‘पछिल्लो परिवेशमा झनझन बढ्दो देखिन्छ। श्रीमान श्रीमती नै सप्लाई गर्छन प्रयोगकर्ताले नै व्यापार गरिरहेको हुन्छ। खानका लागि भएपनि व्यापार गर्छन्’, उनले भने,‘ कसैले घरको सामान बेच्छन्। लुटपट गर्ने घटना भइरहेको हुन्छ। यो बाटो छोड्नुपर्छ यसको गन्तव्य मृत्यु नै हो भन्ने कुरामा उनीहरूमा हुन्छ तर, मनलाई नियन्त्रण गर्न नसक्दा पनि यसको रोकथाम र न्यूनीकरण हुन नसकेको हो।’

लागुऔषध न्यूनीकरणका लागि प्रहरीले विभिन्न सचेतना कार्यक्रमको आयोजना गरिरहेको भए पनि न्यूनीकरण हुनुमा स्वयंम आफू पनि यसको प्रयोग गर्नु हुँदैन भन्ने विषयमा मानसिकता तयार गर्नुपर्नेमा उनी जोड दिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.