|

काठमाडौँ : गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढाव समेटेर निर्मित नेपाली सिनेमा ‘गाउँ आएको बाटो’ प्रदर्शनको तयारीमा रहेको छ।

जेठ २५ गते देशभर प्रदर्शनमा आउने उक्त सिनेमाको टिजर वैशाख २४ गते सार्वजनिक भइसकेको छ।

करिब २ मिनेट २ सेकेन्डको टिजरमा गाउँमा बाटो नपुग्दा भोग्नुपरेको समस्या, पहिलोपटक गाउँमा गाडी पुग्दाको खुशी देखाइएको छ।  नवीन सुब्बा निर्देशित सिनेमामा किरात राई समुदायको पृष्ठभूमिलाई केन्द्रमा राखिएको छ।

यस फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् भने बाल कलाकार प्रसन राई (बिन्द्रे) छोराको भूमिकामा छन्।

महेश राई र नवीन सुब्बाको लेखन रहेको यस फिल्ममा सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ। फिल्मको छायांकन अमेरिकी जोस हेरम र ताइवानका क्वान पुन लुङले सम्पादन गरेका छन्। 

गीतमा हङकङकी हाइडी लीको संगीत र राजेशपायल राईको आवाज रहेको छ भने संगीतकार भूपाल राई हुन्।

निर्माता अमोद राईले निर्माण टिमको क्षमताले भ्याएसम्म फिल्मलाई उत्कृष्ट बनाउन प्रयास गरिएको बताए। थाहाखबरसँगको कुराकानीमा उनले भने, ‘यो सिनेमा बाउछोराको कथा हो, यो सिनेमाले किरात राईहरूको कला, संस्कृति, दर्शनलाई अन्तरराष्ट्रिय स्तरमा पुग्नेछ भन्ने विश्वास लिएका छौँ।’

उनले यो सिनेमा सामुदायिक लगानीमा निर्माण भएको उल्लेख गरे। उनका अनुसार यो सिनेमामा देश तथा विदेशमा रहेका धेरै राई समुदायका व्यक्तिहरूको लगानी छ।

‘यो फिल्म विश्वभरि प्रतिष्ठित क्यानडाको ‘टोरन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साओ पाउलो’, भारतको ‘मुम्बई’ स्विडेनको ‘गोटेबर्ग’, चीनको बेइजिङलगायत डेढ दर्जन फिल्म महोत्सवको यात्रापछि घरेलु दर्शकमाझ आउन लागेको हो,’ उनले सुनाए।

यो सिनेमा नेपाली दर्शकले पनि रुचाउने उनको आशा छ।

‘हामीलाई आशा छ, जसरी यो फिल्मलाई उत्तरदेखि दक्षिण अमेरिकासम्म, एशियादेखि युरोपसम्मका भिन्न-भिन्न वर्ग, पृष्ठभूमि, जातजाति र देशका दर्शकले स्वीकार गर्नुभयो’, उनले भने, ‘मनपराई दिनुभयो, प्रशंसा गर्नुभयो, त्यसरी नै नेपाली दर्शकले पनि स्वीकार गर्नु हुनेछ र मनपराई दिनु हुनेछ भन्नेमा हामी आशावादी छौँ, फिल्म सजिलै बुझ्न सकिने, सरल र सबै दर्शकको पहुँचमा पुग्नेछ।’

कला निर्देशक रजत राईले मुख्यतः किरात राईभित्रको पनि बान्तावा राई परिवारको कथालाई सिनेमामा समावेश गरिएको जानकारी दिए। लामो समयसम्म खोज अध्ययनपछि यो सिनेमा बनेको उनको भनाइ छ।

‘मलाई मुन्धुम पढ्न नै ६ महिना लाग्यो, हामीलाई लागेको छ, यो सिनेमामा कुनै कमीकमजोरी नहुने गरि मिहिनेत गरेर बनाएका छौँ’, उनले भने।

कलाकार पशुपतिले नाटकभन्दा यो सिनेमामा अभिनय गर्दा धेरै फरक पाएको अनुभव सुनाइन्। ‘यो कथा हाम्रो हो, समुदायमा आउनुपर्छ, यो सिनेमामा धेरै हाम्रो मिहिनेत छ, त्यसैले किरात राई समुदाय र अन्य गैरकिरातीहरूलाई पनि जेठ २५ गतेदेखि हलमा सिनेमा हेरि दिनुहुन आग्रह गर्छौं’, उनले भनिन्।   

यो फिल्म बान्तावा राईहरूको मुख्य थलो भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.