|

विराटनगर : व्यस्त सडकमा हुइँकिँदै आउने गाडीहरुको भीड छिचोल्दै उनले ई–रिक्सा (सिटी सफारी) टक्क रोकिन्।

अनि चोकमा उभिएका यात्रुहरुसँग मुसुक्क हाँस्दै सोधीखोजी गर्छिन्, ‘कहाँसम्म जाने?’ 

यात्रुहरुले आफ्नो गन्तव्य बताएपछि तिनै यात्रुहरुको गन्तव्यतर्फ सफारी हुइँकाउँछिन् उनी।

‘जाने हो?’ खाली भएका वेला सफारीको ह्याण्डलसँगै घरिघरि बाटोमा भेटिएका यात्रुहरुलाई सोध्न पनि भ्याउँछिन्।

करिब १० बजे मुनालपथ चोकमा भेटिएकी जिरासरी गौतम (राजवंशी) घर व्यवहार चलाउन सिटी सफारी लिएर घरबाट निस्किन्छिन्।

उमेरको ६०औँ खुड्किलो पनि नाघिसकेकी उनी सिटी सफारीले महिलालाई आत्मनिर्भर बनाएको बताउँछिन्। उनले ३ वर्षअगाडि किस्ताबन्दीमा सिटी सफारी किनेकी रहिछन्।

३ वर्षको दौरानमा सफारी किन्न लिएको सबै ऋण चुक्ता गरिसकेको उनले प्रसन्नतापूर्वक सुनाइन्।

कुराकानीकै बीच घरिघरि यात्रुलाई ‘कहाँ जाने हजुर?’ भनेर सोध्न र फेरि गफिन भ्याउने जिरासरीको परिवारको भरथेग भने पनि बाँच्ने आधार भने पनि यही सफारी रहेछ। 

उनले सिटी सफारीको ‘ड्राइभिङ यात्रा’  थाल्नुभन्दा पहिले गार्मेन्टमा र कफी उत्पादन गर्ने उद्योगमा काम गरिसकेकी रहिछन्। आफूले काम गरिरहेको ठाँउबाट अनेक बहाना बनाएर हटाएपछि उनी सफारी चालक बनेको बताइन्।

‘कफी बनाउने उद्योगमा काम गर्थेँ तर तँ बुढी भइस् अब काम गर्न सक्दिनस् भनेर निकाल्यो, त्यसपछि मैले सफारी किनेँ। खै त सफारी किनेको पनि तीन वर्ष भइसक्या‚ काम गरिरहेकै छु,’ उनले भनिन्,‘सिटी सफारीले मलाई त आफैँ कमाउन सक्ने बनाएको छ‚ आफ्नो खुट्टामा उभ्याएको छ।’

अन्तरजातिय विवाह बन्धनमा बाँधिएकी विराटनगर–२ की जिरासरीलाई बाहुन परिवारसँग भिज्न त्यति सहज भएन।

अहिले पनि उनी र उनका श्रीमान सँगै बस्छन् तर श्रीमानको परिवारसँग भने टाढै छैन। जीवनका हरेक सुखदुःखका भेलहरु सँगाल्दै आएकी उनी अझै पनि कुनै उद्योगमा काम पाए गर्न आफू समर्थ रहेको सुनाउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.