|

काठमाडौं : विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फ्रान्स गएका छन्। उनी गएराति फ्रान्स उडेको महानगर स्रोतले जनाएको छ। 

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स जान लागेका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ। मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ। यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन्।

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ। बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन्। 

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी काठमाडौंलाई ‘सिनेमाको रचनात्मक सहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ।

फ्रान्सको कान्स सहर पनि सिनेमाको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो। सिनेमाको रचनात्मक सहरको रुपमा सूचीकृत भएपछि यतिबेला महानगरपालिका कार्यविधि निर्माणमा जुटिरहेको छ। २०८१ सालदेखि नै सिनेमा महोत्सवसहितका कार्यक्रम आयोजना गर्ने तयारी महानगरपालिकाको छ।

७७ औं कान्स महोत्सव मे १४ देखि २५ सम्म आयोजना हुँदैछ। कान्समा यस वर्ष नेपालमा छायांकन भएको सिनेमा ‘द सेमलेस’ र नेपाली भाषाको सिनेमा ‘तारा  अ लस्ट स्टार’ छनोट भएका छन्। नेपाली सिनेमा भने यो वर्षको कान्समा छनोट भएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.