'खरिद गरिएको मल कोलकाता आइपुग्यो'
'खरिद गरिएको मल कोलकाता आइपुग्यो'
काठमाडौँ : नेपालमा अत्यावश्यक कृषि सामग्रीको अभावका कारण उत्पादनमा नकारात्मक असर पर्दै आएको छ। किसानले गुणस्तरीय बीउ, सिँचाइ, उन्नत प्रविधिका साथै अन्नबालीलाई पोषण तत्त्व प्रदान गर्न आवश्यक गुणस्तरीय रासायनिक मल समयमै नपाउँदा उत्पादन पर्याप्त बढाउन सकेका छैनन्।
सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै मलसँगै अन्य कृषि सामग्रीको अभाव हुन नदिन सुनिश्चित गर्ने भनी उल्लेख गर्दै आएको छ। केही वर्षयता आफ्नै मुलुकमा रासायनिक मलको उद्योग खोलेर समस्याको दीर्घकालीन समाधान खोज्ने चर्चा र केही प्रयास हुँदै आए पनि किसानले आवश्यकतानुसार मल पाउन सकेका छैनन्।
यद्यपि योपटक भने अघिल्ला वर्षहरूमा जस्तो वर्षे बालीका लागि अभाव नहुने मल खरिद बिक्रीको जिम्मा पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएका छन्। सरकारले छुट्याएको बजेटअनुसार कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल खरिद गरी किसानलाई बिक्रीतिरण गर्दै आएका छन्।
कृषि सामग्रीसँग करिब ७० हजार टन मल
कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्याय गोदामहरू प्रायः भरिएकाले अहिले मलको अभाव नरहेको बताउँछन्। ‘राज्यले योपटक छुट्याएको बजेट अनुरूप मल किन्न टेन्डर–खरिद प्रक्रया पूरा गरी केही परिमाण आइसक्यो, बाँकी आउने क्रममा छ’, उनले भने‚ ‘समयमै आइपुग्यो भने अभाव हुँदैन।’
उनका अनुसार, कम्पनीसँग हाल युरिया मल ५४ हजार ७०९ मेट्रिक टन मौज्दात छ। यसैगरी डाइएमोनियम फस्फेट (डिएपी) ५ हजार ७ सय मेट्रिक टन, पोटास ८ हजार ९०७, मेट्रिक टन र कृषि चुन ६५० मेट्रिक टन गरी कुल ६९ हजार ९६७ मेट्रिक टन मल मौज्दात छ। ‘यसको अतिरिक्त लगभग डेढ लाख मेट्रिक टन मल खरिद प्रक्रिया सकिएर आउने क्रममा छ’‚ उपाध्यायले भने‚ ‘सरकार–सरकार (जी–टू–जी) मार्फत भारतको सरकारी कम्पनी आर.सी.एफ.लाई २५ हजार मेट्रिक टन डिएपी किन्न पैसा पठाइसकेका छौँ, अर्को थप २५ हजार टन पनि ग्लोबल टेण्डरमार्फत आउँदै छ। त्यो दुवै आइपुग्यो भने असारसाउनका लागि अभाव हुँदैन भन्ने अनुमान छ।’ हिउँदे बालीका लागि मलको अभाव नभएको बताउँदै उपाध्यायले अहिले पनि किसानले मल लगिरहेका बताए।
साल्ट ट्रेडिङसँग ३४ हजार टन मौज्दात
यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले ३४ हजार मेट्रिक टनभन्दा बढी मल मौज्दात छ। कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराईका अनुसार युरिया मल २६ हजार, डिएपी ५ हजार र पोटास ३ हजार मेट्रिक टन रहेको छ। १२ हजार टनमध्ये आधा युरिया कोलकाताबाट गोदाममा जम्मा भइसकेको र बाँकी असारको शुरुदेखि आउने भट्टराईले बताए। मल खरिद प्रक्रिया शुरु गरेदेखि नेपालको गोदामसम्म आइपुग्न करिब ४ महिना लाग्छ।
साल्ट ट्रेडिङले ३० प्रतिशतको जिम्मेवारी अनुसार १ लाख ८० हजार मेट्रिक टन मल खरिद गर्नुपर्छ। जसमध्ये बाँकी ५१ हजार मेट्रिक टन डिएपी र २५ हजार टन युरिया असारभित्र आइसक्ने सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराईले बताए। ‘हाम्रो सामान बोकेको जहाज कोलकातासम्म आइसक्यो भट्टराईले भने‚ ‘भारत सरकारका तर्फबाट बन्दरगाहमा पक्रिया पूरा भएर सिफारिस हुनेबित्तिकै जेठको अन्तिम वा असारको शुरुदेखि नेपाल भित्रिन थाल्छ। त्यसकारण वर्षे बालीका लागि किसानले मलको अभाव भोग्नुपर्दैन भन्ने आशामा छौँ।’
मल कति चाहिन्छ ?
नेपालमा वर्षभरी कति रासायनिक मल चाहिन्छ भन्ने यकिन तथ्यांक छैन। तर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री भएको अनुपात हेर्दा करिब ७ लाख मेट्रिक टन मल आवश्यक रहेको अनुमान गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने देशभर मलको माग ५ लाख २० हजार मेट्रिक टनभन्दा बढी रहेको बताएको छ।
यता कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले किसानको माग हेर्दा अनुमानित माग ६ लाख मेट्रिक टन खरिदको योजनानुसार काम गरिरहेको जनाएका छन्। सरकारले चालू आर्थिक वर्ष २०८०।८१ का लागि किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट छुट्याएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ३८ अर्ब ५० करोड ६ लाख बजेट तोकेको थियो।
नेपालमा रासायनिक मलको आफ्नै उत्पादन नभएकाले कृषि मन्त्रालयबाट प्राप्त अनुदान बजेटका आधारमा अन्ताराष्ट्रिय बजारबाट रासायनिक मल खरिद गर्नुपरेको हो। अनुदान दिएको रासायनिक मल नीतिअनुसार पहाड र तराईमा क्रमशः १५ रोपनी र ४ हेक्टर जमिन भएका कृषकलाई एक वर्षमा ३ बालीका लागि मल उपलब्ध गराइन्छ। आयात गरिएको मल मुख्यतः विराटनगर, वीरगन्ज र भैरहवा नाकाबाट भित्रिन्छ।
रासायनिक मल ग्लोबल टेण्डरको माध्यमबाट सि.आई.एफ. कोलकाता/हल्दिया वा सि.आई.पी.नेपाल सीमाको गोदाम डेलिभरीका आधारमा अन्ताराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ। सामान्यतया ग्लोबल टेन्डरमार्फत मल आयात गर्न ५–६ महिना लाग्ने कृषि सामग्री कम्पनीले जनाएको छ।
ग्लोबल टेण्डरका साथै कम्पनीले भारतसँग जी-टू-जी मार्फत मल आयात गर्ने गरेको छ। मलको बिक्री कम्पनीको प्रादेशिक तथा शाखा कार्यालयहरूबाट सहकारी संघ संस्थामार्फत हुने गरेको छ। देशभर हाल ५ हजार ३ सय वटा सहकारी संघसंस्थाले मल बिक्रेताको रूपमा काम गर्दै आएका छन्।
मल कारखाना : चर्चा धेरै, काम सुस्त
सरकारले रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गर्ने, मल आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी बनाउने बताउँदै आएको छ।
लामो समयदेखि चर्चामा रहेको स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी लगानी बोर्डमार्फत काम अगाडि बढाउने भनी चालू आर्थिक वर्षको बजेटमा पनि उल्लेख गरिएको छ।
जसअनुसार मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि इच्छुक जर्मन, मलेशियाली र भारतीय कम्पनीको सन्दर्भमा प्रक्रिया अगाडि बढाइएको लगानी बोर्डले जनाएको छ।
जथाभावी प्रयोगले हानि
बोटविरुवाले माटोबाट प्राप्त गर्ने तत्त्व उपलब्ध गराई उत्पादन बढाउन किसानले रासायनिक मल, प्रांगारिक मल र जैविक मल प्रयोग गर्दै आएका छन्। रासायनिक मलको जथाभावी प्रयोगले भने माटोलाई अम्लीय बनाउँछ।
जमिनमुनिको पानीलाई विषालु बनाउने, बोटविरुवा जल्ने, माटोमा भएको फस्फोरस विरुवाले प्राप्त गर्न नसक्ने, माटोमा सूक्ष्म जीवाणुको क्रियाकलाप घट्ने, माटोमा हावापानीको सञ्चारमा कमी आउने, माटोले पानी धारण गर्ने क्षमता क्षीण हुने, उर्वराशक्तिलाई दिगो बन्न नदिने लगायतका नकारात्मक प्रभाव समेत पर्छ। कृषि चुनको प्रयोगबाट अम्लीयपना घटाउन सकिने विज्ञहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।