|

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुन बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन्। 

गभर्नर अधिकारीले बैंकहरू नबचे सर्वसाधारणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुन बैंकिङ प्रणाली सुरक्षित हुन जरुरी रहेको बताए। गभर्नर अधिकारीले सोमवार अर्थसमिति बैठकमा बोल्दै बैंकिङ प्रणालीलाई बचाउँदै सर्वसाधारणको बचत सुरक्षित बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए। उनले बैंकिङ प्रणाली (बैंक) नबचे मुलुकमा आर्थिक संकट आउने दाबी गरे।

उनले त्यसैले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुन नहुने जिकिर गरे। उनले बैंकिङ प्रणाली सुरक्षित र सबल हुन बैंकहरूले न्यूनतम नाफा कमाउन आवश्यक रहेको बताए। उनले पछिल्लो समय बजारमा बैंकहरूले धेरै नाफा कमाए भन्ने गलत प्रचार भएको भन्दै राजनीतिक नेता लगायत सर्वसाधारण सबै त्यो भ्रमबाट बाहिर आउनुपर्ने बताए।

गभर्नर अधिकारीले नाङ्गो आँखाले बाहिर देखे जस्तो बैंकहरूले नाफा नकमाएको दाबी गरे। उहाँले बैंकहरूको अहिले नाफा ८.५ प्रतिशतभन्दा बढी नभएको भन्दै नाफा निरन्तर घटेर गइरहेको उल्लेख गरे।

उनले भने, ‘बैंकमाथि सर्वसाधारणको विश्वास रहन्छ वा रहँदैन भन्ने प्रश्न आइरहेको छ। बैंकहरूप्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुन जान्छ। बैंकमाथि सर्वसाधारणको विश्वास कायम राख्न पनि बैंकहरू सुरक्षित र सबल हुनुपर्छ। त्यसका लागि बैंकहरूलाई न्यूनतम नाफा हुनुपर्छ। बैंकहरूले निरन्तर कमाउनुपर्छ। आर्थिक स्थिरताका लागि बैंकिङ प्रणाली धराशायी हुनुहुँदैन।’

उनले बैंकहरूले व्यवसायीहरूलाई कर्जाको किस्ताको रिस्ट्रक्चरिङ दिएको तीनपटकसम्म सुविधा दिएको बताए। उनले त्यो सुविधा हुँदाहुँदै पनि बैंकको ऋण जोगाउन राष्ट्रबैंकले पुनर्संरचना र पुनःतालिकीकरण बारम्बार दिएको बताए।

उनले बैंकलाई सधैँभरी यो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अप्ठ्यारो आउने खतरा रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.