कसले गर्‍यो विद्यार्थीको भविष्यमाथि खेलबाड

|

काठमाडौँ : नेपालमा दक्ष चिकित्सक उत्पादनमा सहयोग गर्ने भन्दै बंगलादेश सरकारले वार्षिक छात्रवृत्तिमा नेपाली विद्यार्थीलाई चिकित्सा शास्त्रका विभिन्न विधामा विद्यार्थीलाई पढाउँदै आएको छ।

बंगलादेश सरकारले चिकित्साशास्त्र स्नातक तहमा एमबीबीएस, बीडीएस तथा स्नातकोत्तर तहतर्फ वार्षिक छात्रवृत्ति कोटामा नेपाली विद्यार्थीलाई निःशुल्क अध्यापन गराउँदै आएको छ।

यो छात्रवृत्तिका लागि नेपालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हरेक वर्ष एकीकृत प्रवेश परीक्षा पास गरेका विद्यार्थीहरूलाई मेरिटको आधारमा छनोट गरेर पढ्न पठाउने गरेको छ।

जसअनुसार शैक्षिक वर्ष २०२३।०२४ का लागि  पनि छात्रवृत्ति कोटाअन्तर्गत बंगलादेश सरकारले एमबीबीएसमा १९ जना र बीडीएसमा ३ जना गरी जम्मा २२ जनालाई छात्रवृत्ति दिने भन्दै नेपाललाई पत्राचार गरेको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले आयोगमार्फत २२ जनाको नाम सिफारिस गरेको थियो। आयोगले एकीकृत प्रवेश परीक्षा उत्तीर्ण २२ जनाको सूची सार्वजनिक गर्दै उनीहरूलाई बंगलादेश पठाउन सिफारिस गरेको थियो। 

तर आयोगले सिफारिस गरेर पठाएका विद्यार्थीको नाममा बंगलादेश सरकारले आफैँले सार्वजनिक गरेको यो वर्ष एमबीबीएस र बीडीएसतर्फको छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको नाममा फरक परेको तथ्य सार्वजनिक भएको छ।

हरेक वर्ष नेपाल बाहेकका देशले उपलब्ध गराउने छात्रवृत्ति कोटाअन्तर्गतको सिटमा आयोगको सिफारिसको आधारमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा विद्यार्थीहरूको नाम सिफारिस गर्छ। तदनुरूप यो वर्ष पनि आयोगको सिफारिसमा नेपालस्थित बंगलादेशी राजदूतावास हुँदै यो वर्ष उक्त कोटामा अध्ययन गर्ने विद्यार्थीहरूको सूची पठाएको थियो। अहिले आएर आयोगले सिफारिस गरेका १० विद्यार्थीको नाम काटेर अर्कै व्यक्तिको नाम आएपछि यो विषय चर्चामा रहेको छ।  

हामीले गडबड गरेका छैनौँ : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा अध्ययनका लागि आयोगले वार्षिक लिने एकीकृत प्रवेश परीक्षा पास गरेर मेरिटको आधारमा उक्त छात्रवृत्तिमा छनोट भई आयोगले नामै सार्वजनिक गरेपछि अध्ययन गर्न बंगलादेश जाने तयारीमा रहेका विद्यार्थीहरू बंगलादेश सरकारले सार्वजनिक गरेको नाममा आफ्नो नाम नभेटेपछि अन्योलमा छन्। जसले गर्दा हाल उनीहरू सोधपुछ गर्न आउने गरेको आयोगले जनाएको छ।

आयोग उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले एमबीबीएस, बीडीएसतर्फ बंगलादेश सरकारले छुट्याएको छात्रवृत्तिकोटा पढ्न जाने विद्यार्थीहरूलाई मेरिटकै आधारमा छनोट गरी नाम सार्वजनिक गरेर सिफारिस गरिएको हुँदा आफूहरूको गल्ती नभएको बताउँछन्। आयोगका उपाध्यक्ष प्रा.डा. झाले भने‚ ‘हामीले प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई मेरिटको आधारमा छात्रवृत्तिमा अध्ययनका लागि सिफारिस गरेका हौँ, सिफारिस गरेको नाम हामीले हरेक वर्ष सार्वजनिक पनि गर्छौँ। यस्तो  प्रक्रिया बंगलादेशमा छात्रवृत्तिमा पढ्न जानेका लागि मात्रै होइन‚ नेपाल बाहेक अन्य देशमा छात्रवृत्तिमा अध्ययन गर्न जाने चिकित्सा शिक्षातर्फका सबै  तहका छनोटमा परेका विद्यार्थीको नाम सिफारिससँगै सार्वजनिक गर्छौँ।'

कसले गर्‍‍यो विद्यार्थीको नाम हेरफेर

उक्त छात्रवृत्तिका लागि आयोगको माध्यमबाट छनोट परेर सिफारिस भएका २२ जनामध्ये १० जना विद्यार्थीको नाम बंगलादेशले सार्वजनिक गरेको सूचीमा नभेटिएर अरू नै विद्यार्थीको नाम घुसाइएपछि अहिले आएर विद्यार्थीको नाम बदली उनीहरूको भविष्यमाथि कसले खेलबाड गर्‍यो भन्ने विषय गम्भीर रूपमा उठेको छ। जुन विषय शिक्षा तथा स्वास्थ्य समितिसम्म पुगेको छ।

यो विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बंगलादेश सरकारसँग बुझ्दा आयोगको सिफारिसअनुसार २२ जना विद्यार्थीलाई अध्ययन गर्ने अवसर उपलब्ध भई सिफारिस भएकामध्ये एमबीबीएसतर्फ १० जना र बीडीएसतर्फ २ जना मात्रै आयोगको सिफारिसमा परेका व्यक्तिको नाम बंगलादेशमा सिफारिस भएको कूटनीतिक नोट सहितको जानकारी बंगलादेश सरकारले पठाएको शिक्षा मन्त्रालयले जनाएको छ।

यो विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसअनुसार २२ जना विद्यार्थीलाई अध्ययन गर्ने अवसर उपलब्ध हुने गरी सिफारिस भएकामध्ये एमबीबीएसतर्फ १० जना र बीडीएसतर्फ २ जनालाई मात्रै सो अवसर प्राप्त भएको भनी परराष्ट्रद्वारा मिति २०८१।१। २१ मा गरिएको पत्राचारमा काठमाडौँस्थित बंगलादेशी राजदूतावासको २ मे २०२४ को कूटनीतिक नोटसहितको जानकारी दिएको छ तर सिफारिसमा परेका अन्य विषयको हकमा किन के भयो भनेर मन्त्रिस्तरीय निर्णय गरी पत्राचार गरिएको र सो सम्बन्धमा परराष्ट्र मन्त्रालयले बंगलादेश सरकारलाई 'कूटनीतिक नोट' पठाइसकेको छ।'

यति मात्रै होइन उक्त विषयका लागि भन्दै शिक्षामन्त्री श्रेष्ठले काठमाडौँस्थित बंगलादेशकी राजदूत सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा भेटघाट गरी उक्त विषयमा छलफल समेत गरेकी छन्।

चिकित्सा शिक्षा आयोगका एक पदाधिकारीका अनुसार भने बंगलादेश सरकारले छुट्याएको छात्रवृत्ति कोटा पढ्न जाने विद्यार्थीहरूलाई मेरिटकै आधारमा छनोट गरी नाम सार्वजनिक गरेर सिफारिस गरिएको हुँदा यो गल्ती आयोगभन्दा पनि बंगलादेश सरकार वा नेपाल सरकारकै माथिल्लो तहबाट हुन सक्ने बताए।

आयोगका ती अधिकारीले भने‚ ‘सबैलाई थाहा छ- हामीले त एकीकृत रूपमा प्रवेश परीक्षा लिन्छौँ र मेरिटका आधारमा विद्यार्थी छनोट गरी उनीहरूको नाम सार्वजनिक गरेरै सिफारिस गर्छौँ। यसले गर्दा यो गल्ती हामीभन्दा पनि माथिल्लो तहबाटै हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.